पोखरा । सुन्दर नगरी पोखराको लेकसाइडमा रहेको होटल पोखरा गुडविल प्रा.लि. नयाँ व्यवस्थापनबाट सञ्चालनमा आएको छ । बिगत लामो समयदेखि कास्कीको अन्नपूर्ण गाउँपालिकामा हिमालय देउराली रिसोर्ट सञ्चालन गरिरहेका पर्यटन व्यवसायी गणेशमान गुरुङ र विन्दा रायमाझीले होटल गुड विल प्रालि खरिद गरी सञ्चालनमा ल्याएका हुन् ।
होटलले नयाँ व्यवस्थापनबाट सेवा सुरु गरिसकेको सञ्चालक रायमाझीले आर्थिक आवाजलाई जानकारी दिइन् । होटल गुड विलले पोखरा क्षेत्रको सुविधा सम्पन्न बुटिक होटलको पहिचान बनाएको छ । हस्पिटालिटी क्षेत्रमा लामो समयको अनुभव संगालका व्यक्तिहरुको व्यवस्थापनबाट सञ्चालन भएपछि गुडविलमा धेरै पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ ।
होटलमा ४२ वटा रुम छन् । जसमध्ये ६ वटा स्विट र बाँकी सुपर डिलक्स रुम रहेका छन् । होटलमा एउटा मिटिङ हल, दुई वटा कन्फरेन्स हल छन् । होटलसँगै गुडविल स्पाको सुविधा पनि उपलब्ध छ । ‘होटलबाट हिमाल देखिन्छ र ताल पनि देखिन्छ,’ सञ्चालक रायमाझीले भनिन्, ‘भक्तपुरका इटाले बनाइएको टिपिकल होटलको मज्जा यहाँ प्राप्त गर्न सकिन्छ ।’ गुरुङ र रायमाझीले अन्नपूर्णमा हिमालय देउराली रिसोर्टसँगै हिमालय देउराली पशु फर्म पनि सञ्चालन गरिरहेका छन् ।
होटल नयाँ व्यवस्थापनबाट सञ्चालनमा आएको अवसरमा विशेष छुटसहित सेवा प्रदान गरिरहेको सञ्चालक गुरुङले जानकारी दिए । ‘हामी पाहुनालाई होटलमा स्वागत गर्न आतुर छौं,’ उनले भने, ‘यहाँ आउनुभएका पाहुनालाई न्यानो आतिथ्यता प्रदान गरेर पूर्ण सन्तुष्ट बनाउनेछौं ।’
Comments are closed.