शून्य अवस्थामा छौं, सरकारले बजेट र नीतिमार्फत सहयोग गरोस्

होटल संघ पोखराको राष्ट्र बैंकमार्फत सरकारलाई सुझाव

काठमाडौं– होटल संघ पोखराले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गर्नुपर्ने मुख्य बुँदा सुझावको रुपमा पेश गरेको छ । संघले सरकारसँग समन्वय गर्न आग्रह गर्दै नेपाल राष्ट्र बैंक समक्ष आग्रह गरेको हो ।

सन २०२० को प्रारम्भ देखि विश्व अर्थतन्त्रलाई नै प्रभाव पार्ने गरी देखा परेको कोभिड १९ र पोखरामा भएको हवाई दुर्घटनाको कारण पूर्ववत अवस्थामा अन्तराष्ट्रिय पर्यटकहरुको आवागमनमा वृद्धि नभएको हुँदा पोखरा स्थित होटल तथा पर्यटन उद्योग शून्य अवस्थामा रहेको संघको भनाइ छ ।  कोभिडका कारण पर्यटन क्षेत्र विशेष गरी होटल उद्योग सबैभन्दा बढी प्रभावित भए तापनि आर्थिक वर्ष २०७९/०८० को बजेट र हाल सम्म नेपाल राष्ट्र बैंकले ल्याएका मौद्रिक नीतिले व्यवसायीको अपेक्षा अनुसार पर्यटन तथा होटल उद्योगका समस्याहरुलाई सम्बोधन गर्न नसकेको गुनासो संघको छ ।

संघले आगामी जारी हुने निर्देशिकामा समावेश गर्नुपर्ने र बजेटमा समावेश गर्नुपर्ने गरी सुझाव दिएको हो । यस्ता छन् संघका सुझाव :
निर्देशिकामा समावेश गर्नुपर्ने सुझाव :

  •  कोभिड १९ कारण पर्यटन क्षेत्र हाल सम्म पुरानो लयमा नआइसकेको हुँदा व्यवसायीहरुले लिएको कर्जाको तिर्नु पर्ने व्याज एवम् १० प्रतिशत थप कर्जा लगायत २०८० असार मसान्त सम्मको व्याजलाई नयाँ साँवा बनाई पहिलेको कर्जाको भुक्तानी तालिका सकिए पश्चात मात्रै तिर्ने गरी नयाँ तालिका बनाई तिर्ने व्यवस्था गरिनु पर्ने । साथै व्यवसायीहरुलाई साधारण पुनरकर्जाको व्यवस्था गरिनु पर्ने ।
  •  कोभिड १९ बाट अति प्रभावित क्षेत्रको सुचिमा होटल तथा पर्यटन उद्योग रहेको र हालसम्म पनि पर्यटन उद्योगको आर्थिक अवस्थामा सुधार आई नसकेको हुँदा पुनरकर्जा सुविधालाई निरन्तरता दिइनुपर्ने । साथै होटलहरुले लिएको ऋणको कर्जा र आवश्यक थप कर्जा न्यून व्याजदरमा प्रवाह गरिनुपर्ने, कर्जाको व्याजदरलाई वृद्धि गर्न नहुने ।
  •  वर्तमान परिप्रेक्षमा होटल व्यवसायीले कोभिडको कारण नियमित रुपमा कर्जा तथा व्याज भुक्तानी गर्न नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले कुनै प्रकारको जरिवाना शुल्क लिन वाध्यकारी नवनाउने तथा व्यवसायीलाई कर्जा भुक्तानी गर्न ताकेता नगराउनु हुन तथा व्यवसायीको धितो लिलामी गर्ने जस्ता कार्य नगरिदिनु हुन विनम्र अनुरोध गर्दछौं ।

आगामी आ.व. २०८०/०८१ को बजेटमा समावेश गरिनुपर्ने बुँदाहरु :

१. राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग सम्बन्धमाः

  •  समग्र विकास र राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार पर्यटन नै हो । होटल उद्योग पर्यटनको मेरुदण्ड हो । राष्ट्रिय विकास र सम्वृद्धिको लागि पर्यटन उद्योगको संरक्षण नगरी सम्भव छैन । सेवा व्यवसायको माध्यमवाट ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्ने क्षेत्रले राज्यको तर्फवाट प्राथमिकता प्राप्त क्षेत्रको रुपमा मान्यता प्राप्त गर्न सकेको छैन् । यसर्थ ठूलो पूँजी लगानी गरी लाखौंलाई रोजगारी उपलब्ध गराएको र मुलुकको कुल गार्हस्थ्य उत्पादनमा समेत महत्वपूर्ण टेवा पु¥याएको होटल उद्योग राष्टिय गौरवको उद्योग र प्राथमिकताको उद्योग भएको हुँदा यसलाई उत्पादनमूलक उद्योग सरहको सुविधा आवश्यक रहेकोले औद्योगिक व्यवसाय ऐन, २०७६ मार्फत प्राथमिकता प्राप्त क्षेत्र र विशेष उद्योगको मान्यता प्रदान गरिदिनु पर्ने ।

२. विशेष बैंकिङ तथा कारोवार सहजिकरण सम्बन्धमा :

  • होटल उद्योगले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने बुझाउने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि अतिप्रभावित बनि पुनरुत्थानकै क्रममा रहेको होटल उद्योगले हालको अवस्थामा बंैंकलाई साँवा र व्याज बुझाउन सक्षम नरहेको अवस्थामा थप एक वर्ष समयसीमा थप गरी प्रोत्साहन गर्दै होटलको संरक्षण गरिदिनुपर्ने ।
  • होटल क्षेत्रको सञ्चालन खर्च अत्याधिक हुन्छ । पर्यटकलाइ दैनिक रुपमा उपलव्ध गराउने सेवा, सुविधाका लागि हुने खर्चको व्यवस्थापन गर्न होटल व्यवसायलाइ सहुलियत दरको चालु पूँजी कर्जा, पुर्नकर्जा, पुनर्तालिकीकरण को व्यवस्थाको निरन्तरता गरिनुपर्ने ।
  • विभिन्न मुलुकबाट नेपाल आउने पर्यटकहरुले आ–आफ्नो मुलुकको मुद्रा साथैमा लिएर आएर होटलमै सटही सुविधा तथा भुक्तानी लिन पाउने व्यवस्था हुनु पर्ने । विशेषगरी सार्क क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुले आफ्नै देशको मुद्रा सटही गर्न पाउने नीति अवलम्बन गर्दा पर्यटन प्रवद्र्धनमा सहजता हुने ।

३. प्रवद्र्धनात्मक कार्यक्रम सम्बन्धमाः

  • नेपालको गरिमा अभिबृद्धि गर्न अन्तर्राष्ट्रिय सन्देश जाने खालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धन तथा विकासका कार्यक्रम गरिनु पर्दछ । साथै आगामी बजेटमा कोभिडपछिको पर्यटन प्रवद्र्धन गर्न एक अन्तर्राष्ट्रिय स्तरको ठूलो प्रवद्र्धनात्मक कार्यक्रम आयोजनाका लागि बजेट छुट्टाई राष्ट्रिय कार्य नीति तथा कार्यक्रम घोषणा हुनुपर्ने ।
You might also like

Comments are closed.