पिएलओ ग्रुपको लगानी अब पर्यटनमा, बिराटचोक र दमकमा खुल्यो थ्रिस्टार होटल

मोरङ । अटोमोबाइल्स व्यवसायमा लगानी गर्दै आइरहेको पूर्वाञ्चल लुब ओइल (पिएलओ) ग्रुपले पर्यटन क्षेत्रमा लगानी सुरु गरेको छ । यो ग्रुपले एकैपटक २ वटा होटलमा लगानी गरेको छ ।

मोरङको सुन्दरहरैँचा बिराटचोक र झापाको दमकमा ३ तारे होटल सञ्चालनमा आएका छन् । ६० करोड रुपैयाँ लगानीमा एकैपटक २ वटा होटल सञ्चालनमा आएको डाइरेक्टर कृष्णप्रसाद दुलालले आर्थिक आवाजलाई जानकारी दिए । दुवै होटलको सफ्ट ओपनिङ भइसकेको छ । ग्राण्ड ओपनिङ वैशाख दोस्रो साता हुने बताइएको छ ।

मोरङमा १ बिगाह जग्गामा र झापामा १५ कठ्ठा जग्गामा होटल निर्माण गरिएको दुलालले जानकारी दिए । मोरङको होटलमा ५५ वटा रुम र दमकको होटलमा ५० वटा रुम छन् ।

यस अगाडि पिएलओ ग्रुपले लुब्रिकेन्ट्स, टायर, स्पेयर्स पार्टस् र मेसिनरीमा मात्रै लगानी गर्दै आइरहेको थियो । ‘पर्यटनमा भएको अथाह सम्भावनालाई मध्यनजर गरी पिएलओ ग्रुपले होटलमा लगानी सुरु गरेको छ,’ दुलालले भने । यो ग्रुपले अबको ५ वर्षभित्र भेडेटार, कोशीटप्पु, झापाको अन्तु लगायतका ठाउँमा तारे होटल सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

मोरङ र दमक क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पिएलओ ग्रुपले होटल सञ्चालनमा ल्याएको हो । ‘यो क्षेत्रमा स्तरीय होटलको आवश्यकता महसुस गरी हामीले लगानी गरेका हौं,’ दुलालले भने, ‘दुवै होटलमा पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा दिन हामी सफल हुनेछौं ।’

सफ्ट ओपनिङ भएसँगै होटलमा पर्यटक आउने क्रम सुरु भएको दुलालले बताए । ‘ग्राण्ड ओपनिङ भएपछि पर्यटकको संख्या अझै बढ्नेमा हामी विश्वस्त छौं ।’ सफ्ट ओपनिङको अवसरमा विशेष छुटमा सेवा प्रदान गरिरहेको उनले बताए ।

होटलमा अहिले सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आवश्यकता अनुसार पर्यटन क्षेत्रमा लगानी विस्तार हुने ग्रुपले जनाएको छ ।

 

You might also like

Comments are closed.