काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सबै प्रक्रिया चैत्रको पहिलो साताभित्र पूरा हुने जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारलाई प्रमाणपत्र वितरणसमेतका सबै कामहरू सो समयभित्र सम्पन्न हुनेछन्।
भट्टराईले बताएअनुसार, मंगलबारसम्म समानुपातिकतर्फको मत गणना सकिने अनुमान आयोगले गरेको छ । गणना पूरा भएपछि प्रत्येक दलले पाएको मत प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट निर्वाचित हुने उम्मेदवारको नामावली सम्बन्धित दलहरूसँग माग गरिनेछ । त्यसपछि दलहरूबाट प्राप्त नामलाई क्लस्टर अनुसार रुजु गरी आयोगमार्फत प्रमाणपत्र वितरण गरिनेछ ।
प्रत्यक्षतर्फ निर्वाचित उम्मेदवारहरूलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबैतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता रहेको छ ।






Comments are closed.