अमेरिकालाई चुनौती दिँदै हुआवे, बनायो शक्तिशाली एआई चिप

काठमाडौँ । अमेरिकाद्वारा वर्षौंदेखि प्रतिबन्धित चिनियाँ प्रविधि कम्पनी हुआवे टेक्नोलोजिजले शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसर सफलतापूर्वक तयार पारेको छ। यो कदमलाई अत्याधुनिक प्रविधिमा अमेरिका र चीनबीच बढ्दो प्रतिस्पर्धाको नयाँ अध्यायको रुपमा हेरिएको छ।

‘एसेन्ड ९१० डी’ नाम दिइएको यो एआई प्रोसेसर, अमेरिकी चिप निर्माता एनभिडियाका लागि गम्भीर चुनौती बन्न सक्ने विश्वस्तरीय सञ्चार माध्यमहरूले जनाएका छन्। कम्पनी हुआवे टेक्नोलोजिजले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रशोधनका लागि शक्तिशाली प्रोसेसर विकास गरेको छ। ‘एसेन्ड ९१० डी’ नाम दिइएको यो चिपले अत्याधुनिक प्रविधिमा अमेरिका र चीनबीच बढ्दो प्रतिस्पर्धालाई थप उजागर गरेको छ।

यो नयाँ एआई प्रोसेसरलाई विश्व बजारमा सबैभन्दा शक्तिशाली चिप निर्माता मानिने अमेरिकी कम्पनी एनभिडियाका लागि प्रत्यक्ष चुनौतीका रूपमा हेरिएको छ। एनभिडियाका चिपहरू च्याट जीपीटी जस्ता एआई प्लेटफर्म निर्माणमा प्रयोग हुँदै आएका छन् र यही कारण कम्पनी छोटो समयमै विश्वकै सर्वाधिक पूँजीकरण भएको कम्पनीमध्ये एक बनेको थियो।

अमेरिकाले चीनको प्राविधिक, विशेषगरी सैन्य प्रविधि विकासलाई रोक्न एनभिडियाका बी२०० र एच१०० जस्ता अत्याधुनिक एआई चिपहरू चीनमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ। तर, यी प्रतिबन्धका बावजुद हुआवेले विकास गरेको नयाँ चिप एनभिडियाको एच१०० भन्दा शक्तिशाली हुनसक्ने विश्वास गरिएको छ। वाल स्ट्रिट जर्नलका अनुसार, हुआवेले यो चिप परीक्षणका लागि केही चिनियाँ कम्पनीहरूलाई उपलब्ध गराउने तयारी गरिरहेको छ।

पाँचौँ पुस्ताको इन्टरनेट (फाइभ जी) प्रविधिमा विश्व बजार विस्तार गर्दा अमेरिकी प्रतिबन्धको शिकार बनेको हुआवे, कुनै समय विश्वका सर्वाधिक बिक्री हुने स्मार्टफोन ब्राण्डमध्ये एक थियो तर प्रतिबन्धपछि बजारबाट लगभग विलय भएको थियो। यद्यपि, कम्पनीले अब शक्तिशाली पुनरागमन (बाउन्स ब्याक) गरिरहेको संकेत देखिएको छ। यसअघि अर्को चिनियाँ कम्पनीले ‘डीपसिक’ नामक एआई टुल्स सार्वजनिक गर्दा पनि एनभिडियाको सेयर मूल्यमा ठूलो गिरावट आएको थियो, जसले चीनको प्राविधिक क्षमतामाथि विश्वको ध्यान केन्द्रित गरेको थियो।

चीन सरकारले उन्नत प्रविधिको अनुसन्धान र विकासका लागि निजी कम्पनीहरूलाई अर्बौं डलर अनुदान दिइरहेको छ। हुआवेको यो पछिल्लो सफलताले अमेरिका र चीनबीच प्रविधिको दुनियाँमा थप घनघोर प्रतिस्पर्धा हुने स्पष्ट संकेत गरेको छ। हुआवेको चिपको पहिलो नमुना अबको एक महिनाभित्र तयार हुने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.