काठमाडौं। वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार, पछिल्लो एक वर्षको अवधिमा मात्रै बैंकहरूको कर्जाको औसत ब्याजदर २.३३ प्रतिशत बिन्दुले घटेको छ। गत चैत महिनामा वाणिज्य बैंकहरूको औसत कर्जाको ब्याजदर ८.२२ प्रतिशतमा झरेको छ, जुन गत वर्षको सोही महिनामा १०.५५ प्रतिशत थियो।
बैंकिङ प्रणालीमा हाल लगानीयोग्य रकम (तरलता) प्रशस्त मात्रामा उपलब्ध भए तापनि कर्जाको माग अपेक्षाकृत न्यून रहेकाले ब्याजदरमा यो गिरावट आएको हो। यसको प्रत्यक्ष असर स्वरूप बैंकहरूले निक्षेपमा दिँदै आएको ब्याजदर पनि घटाएका छन्। राष्ट्र बैंकका अनुसार, कर्जाको औसत ब्याजदर महिनैपिच्छे घटिरहेको छ; गत फागुनमा ८.४० प्रतिशत, माघमा ८.५५ प्रतिशत र पुसमा ८.६९ प्रतिशत थियो।
ब्याजदर निरन्तर घट्दा लगानीकर्तालाई कर्जा लिन सैद्धान्तिक रूपमा सहज भए पनि कर्जाको माग भने ज्यादै न्यून रहेको केन्द्रीय बैंकले जनाएको छ। कर्जाको लागत घट्नु सामान्यतः व्यापार, उद्योग तथा लगानीकर्तालाई ऋण लिन प्रोत्साहित गर्ने सकारात्मक संकेत मानिए पनि माग कमजोर हुँदा व्यापार व्यवसायमा नयाँ लगानी बढ्न सकिरहेको छैन। जानकारहरूका अनुसार, उपभोक्ताको खर्च क्षमतामा अपेक्षित सुधार, निजी क्षेत्रको मनोबल वृद्धि, सरकारी नीति स्थायित्व, र आम उपभोक्ताको क्रयशक्ति पुनर्स्थपना नभएसम्म कर्जाको माग व्यापक रूपमा बढ्न कठिन छ।
यसैगरी, निक्षेपको औसत ब्याजदर पनि एक वर्षको अवधिमा २.०८ प्रतिशत बिन्दुले घटेर ४.४५ प्रतिशतमा झरेको छ। गत वर्ष चैतमा यो ६.५३ प्रतिशत थियो। निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको लागत कम भई आधार दर (बेस रेट) समेत घट्दो क्रममा छ। राष्ट्र बैंकको तथ्यांक अनुसार, गत चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.२९ प्रतिशतमा झरेको छ, जुन एक वर्षअघि ८.५१ प्रतिशत थियो।
विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदरमा पनि उल्लेख्य गिरावट आएको छ। विकास बैंकहरूको औसत कर्जाको ब्याजदर गत वर्षको चैतको १२.१७ प्रतिशतबाट घटेर हाल ९.५९ प्रतिशत कायम भएको छ। यस्तै, वित्त कम्पनीहरूको कर्जाको औसत ब्याजदर २.९६ प्रतिशत बिन्दुले घटेर १०.४० प्रतिशतमा झरेको छ। विकास बैंकहरूको औसत निक्षेप ब्याजदर ५.२२ प्रतिशत र वित्त कम्पनीहरूको ६.२४ प्रतिशत छ भने यिनको आधार दर क्रमशः ८.३४ प्रतिशत र ९.१७ प्रतिशत कायम भएको छ।
बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको औसत ब्याजदर गत वर्ष चैतको ३.१० प्रतिशतको तुलनामा सामान्य घटेर यस वर्षको सोही अवधिमा ३ प्रतिशतमा झरेको छ। यद्यपि, ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर भने गत वर्षको चैतको ३.०० प्रतिशतबाट सामान्य बढेर यस वर्ष ३.०६ प्रतिशत कायम भएको छ।
Comments are closed.