काठमाडौं । नेपालको सम्भावनायुक्त आर्थिक क्षेत्रहरूमा लगानी गरी प्रतिफल सुनिश्चित गर्न निजी क्षेत्रले संयुक्त अरब इमिरेट्स (यूएई) सरकार र त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेको छ। नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजले कृषी, जलविद्युत्, सूचना प्रविधि, पर्यटन, हस्तकला तथा ऊर्जा प्रशोधनजस्ता क्षेत्रमा लगानीका विशाल सम्भावना रहेको भन्दै छोटो अवधिमै पर्याप्त प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरेको छ।
काठमाडौंस्थित यूएई दूतावासमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष पवन अग्रवालले यूएईका लागि नेपाली राजदूत अब्दुल्लाह जरवा अल शम्सीलाई नेपालमा लगानी सम्भावनाबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए। उनले नेपालका उच्च भूभागमा उत्पादन हुने अग्र्यानिक फलफूलजस्तै स्याउ, सरिफा, स्ट्रबेरी, कीवी, चेरी र सुन्तलाको निर्यात सम्भावना उल्लेख गर्दै अन्तर्राष्ट्रिय बजारमा यी वस्तुको उच्च माग रहेको बताए ।
उनका अनुसार अग्र्यानिक खेतीका प्रविधि आत्मसात् गरिरहेका नेपाली किसानहरूको उत्पादन विश्व बजारमा प्रतिस्पर्धी बनेको छ। विशेष गरी मध्यपूर्वका बजारमा यस्ता उत्पादनको माग उच्च छ ।
नेपालमा आर्थिक रूपमा सम्भव ४२ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमतामध्ये अहिलेसम्म २८०० मेगावाट मात्र विकास भएको जनाउँदै उनले निजी क्षेत्रले २१०० मेगावाट योगदान गरेको बताए। बाँकी ३० हजार मेगावाटभन्दा बढी क्षमता उपयोग गर्न यूएईसँग सहकार्यको आग्रह उनले राखे। जलविद्युत् परियोजनामा १२–१८ प्रतिशत प्रतिफल र ६–१० वर्षको लगानी फिर्ता अवधि हुने जानकारी दिँदै भारत र बंगलादेशमा विद्युत निर्यातको सुनिश्चित बजार रहेको बताए ।
त्यसैगरी, काठमाडौं उपत्यका तथा आसपासका पहाडी क्षेत्रमा २० मेगावाट वायु ऊर्जा उत्पादनको सरकारी योजना रहेको र यसमा पनि लगानीको अवसर खुलेको जानकारी उनले गराए ।
नेपालको साहसिक पर्यटन (जस्तै प्याराग्लाइडिङ, राफ्टिङ, क्लाइम्बिङ, एटीभी) तथा अद्भुत प्राकृतिक सौन्दर्यलाई यूएई लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्दै अध्यक्ष अग्रवालले नेपाली हस्तकलाका उत्पादनहरू लक्जरी बजारमा लोकप्रिय हुन सक्ने बताए। काठ, धातु, ढुंगा, र आध्यात्मिक भावनायुक्त अनौठा डिजाइनका सामग्रीहरू अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा बिक्ने सम्भावना रहेको उनले उल्लेख गरे।
नेपालले सम्पूर्ण पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले यहाँ क्रुड आयल प्रशोधन रिफाइनरी स्थापना गरेर आयात प्रतिस्थापन र आर्थिक स्वावलम्बनको बाटो खोल्न सकिने उनले बताए। स्थानीय प्रशोधनबाट डिजेल, पेट्रोल, जेट फ्युल, ग्यास, वास र डामर उत्पादन गर्न सकिने भएकाले आन्तरिक बजारको माग समेत पूरा हुने धारणा राखे।
भारत र चीनबीचको भौगोलिक अवस्थाले नेपाललाई क्षेत्रीय निर्यातको लागि रणनीतिक लाभदायक बनाएको र नेपालमा सस्तो श्रम, अनुकूल व्यापार नीति, एकद्वार प्रणाली तथा नाफा फिर्ता सजिलो भएको जानकारी दिँदै अग्रवालले यूएईलाई यथाशीघ्र लगानी गर्न आग्रह गरे।
कार्यक्रममा नेपालका लागि यूएईका राजदूत अब्दुल्लाह जरवा अल शम्सीले दुई देशबीचको सम्बन्ध श्रम र रोजगार क्षेत्रभन्दा माथि उठेर लगानी सहकार्यतर्फ अघि बढ्न सक्ने बताएका थिए। नेपालमा लगानीका सम्भावना देखिएको र तथ्यांकमा आधारित भएर यूएई लगानी भित्र्याउन आफू तयार रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यूएईमा कार्यरत ४ लाख नेपालीलाई दुई मुलुकबीचको सम्बन्धको पुलको संज्ञा दिँदै, यूएईका लागि दक्ष श्रमिक उत्पादनका लागि नेपालमै तालिम केन्द्र स्थापना गर्न सहकार्यको आवश्यकता औंल्याए। उनले सरकार र महासंघ दुवैले विदेशी लगानी भित्र्याउन नीतिगत पहल गरिरहेको भन्दै कुटनीतिक माध्यमको प्रभावकारी उपयोगमा जोड दिए।
Comments are closed.