हुलास स्टिलद्वारा सिमरामा सौर्य ऊर्जा प्रणालीको उद्घाटन

काठमाडौं । नेपालकै पहिलो ग्रीन स्टिल तथा रूफिङ कम्पनी हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले बारा–सिमरा स्थित आफ्नो उद्योगमा सौर्य ऊर्जा प्रणालीको उद्घाटन गरेको छ । उक्त परियोजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC), नेपाल सरकारको प्राविधिक मार्गदर्शन तथा सब्सिडी सहयोगमा सम्पन्न भएको हो ।

यस पहलले स्वच्छ र नवीकरणीय ऊर्जाको प्रयोग बढाउँदै सार्वजनिक–निजी सहकार्यलाई थप सुदृढ बनाएको हुलास स्टिलले जनाएको छ । वातावरणीय दिगोपनलाई प्राथमिकतामा राख्दै कम्पनीले यसअघि नै आफ्ना कन्टिन्युअस ग्याल्भनाइजिङ लाइन (CGL) र कलर कोटिङ लाइन (CCL) लाई डिजेलबाट विद्युतमा रूपान्तरण गरिसकेको छ, जसले जीवाश्म इन्धनको प्रयोग घटाउँदै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी ल्याएको छ ।

नवस्थापित सौर्य प्रणालीबाट स्वच्छ ऊर्जा उत्पादन भई कार्बन डाइअक्साइड (CO₂) उत्सर्जनमा मापनयोग्य कमी आउने अपेक्षा गरिएको छ । साथै, यसले ऊर्जा दक्षता बढाउनुका साथै वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । AEPC को सब्सिडी व्यवस्थाले औद्योगिक क्षेत्रमा रूफटप सोलार प्रणालीको प्रयोगलाई प्रोत्साहन दिएको कम्पनीको भनाइ छ ।

जिम्मेवार उत्पादन, जलवायु कार्य तथा दिगो औद्योगिक विकासप्रतिको प्रतिबद्धतासँग मेल खाने यो पहलसँगै हुलास स्टिलले ESG सिद्धान्तप्रतिको आफ्नो नेतृत्वलाई अझ सुदृढ बनाएको जनाएको छ। कम्पनीले यसमार्फत नेपालको हरित र दिगो भविष्यतर्फ सकारात्मक योगदान पुर्‍याउने अपेक्षा लिएको छ ।

You might also like

Comments are closed.