सिंहदरबार र आसपासका निकायमा सयौँ सवारी साधन जलेर नष्ट

काठमाडौं ।  जेन्जी आन्दोलनमा सिंहदरबार र आसपासका विभिन्न मन्त्रालय तथा निकायमा रहेका सयौँ सवारीसाधन जलेर नष्ट भएका छन् । प्राप्त विवरणअनुसार विभिन्न मन्त्रालय, संवैधानिक निकाय र कार्यालयमा ४४४ वटा साना गाडी तथा बस र ६०९ वटा मोटरसाइकल/स्कुटर जलेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मात्र ७७ साना गाडी/बस र ७४ मोटरसाइकल/स्कुटर जलेका छन् भने अर्थ मन्त्रालयमा ३६ सवारीसाधन र ५४ मोटरसाइकल/स्कुटर जलेका छन् । गृह मन्त्रालयमा २५ सवारीसाधन र ३० मोटरसाइकल/स्कुटर जलेका छन् । त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २६ सवारीसाधन र ३० मोटरसाइकल/स्कुटर, युवा तथा खेलकुद मन्त्रालयमा १९ सवारीसाधन र २३ मोटरसाइकल/स्कुटर, संघीय संसदमा १८ सवारीसाधन र ३५ मोटरसाइकल/स्कुटर जलेका छन् ।

वन तथा वातावरण मन्त्रालयमा ७७ गाडी तथा बस र ५० मोटरसाइकल/ स्कुटर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा २२ सवारीसाधन र १४ मोटरसाइकल/स्कुटर, सडक विभागमा ६५ सवारीसाधन जलेका छन् भने सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालयका सवारीसाधनसमेत क्षतिग्रस्त भएका छन् । त्यसैगरी, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, सहरी विकास तथा भवन निर्माण विभाग लगायतका निकायका सयौँ मोटरसाइकल र गाडी जलेका छन् ।

यो क्षतिले सरकारका महत्वपूर्ण निकायहरूमा सञ्चालनमा समेत अवरोध पुर्याएको छ । सम्बन्धित निकायका प्रारम्भिक तथ्याङ्क अनुसार सिंहदरबार वरपर मात्रै करिब १०५३ भन्दा बढी सवारीसाधन पूर्णरूपमा क्षति पुगेका छन् । यी विभिन्न निकायका पार्किङमा रहेका निजी सवारीसाधन समेत जलेका छन् तर तिनको विवरण संकलन भइसकेको छैन। आन्दोलन सुरु भएपछि मन्त्रालयका गाडी निजी घरमा नराखी सिंहदरबारमै पार्किङ गर्न निर्देशन दिइएको थियो । सुरक्षा दृष्टिले सुरक्षित मानिएको सिंहदरबारमै आगजनी भएपछि क्षति अकल्पनीय बनेको छ ।

 

You might also like

Comments are closed.