जलविद्युतको बजार र व्यापार विस्तारका लागि हिमालयन हाइड्रो एक्स्पो आयोजना

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो आगामी चैत १८ देखि २० गतेसम्म हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा तेस्रो संस्करणको एक्स्पो गर्न लागिएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेस प्रा.लि.को संयुक्त आयोजनामा एक्स्पो गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एक्स्पोलाई सफल बनाउन नेपालस्थित भारतीय राजदुताबासको समन्वय तथा बेलायती राजदुताबास र क्यानेडियन हाइ कमिसन कन्ट्री पार्टनर रहने भएका छन् । एक्स्पोको तयारीलाई तिब्र बनाइएको इपानका उपाध्यक्ष आशिष गर्गले पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपालको जलविद्युतको बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको थप अवसर उजागर गर्न एक्स्पोले सहयोग गर्ने आयोजकको विश्वास छ । हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रियस्तरको विकसित पछिल्ला प्रविधिका बारेमा जानकारी गराउन तथा नेपालको जलविद्युतको लागि बजारको प्रवद्र्धन गर्न, देशभित्र विद्युत खपत बढाउन तथा विद्युत व्यापारको प्रवद्र्धन गर्न एक्स्पोले योगदान पुर्याउने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य बताउँछन् ।

‘हाइड्रोपावर सम्बन्धी सरोकार राख्नेहरुका लागि एकै छानामुनी भेला पारी यससँग सम्बन्धी ज्ञान, सिप तथा प्रविधिको बारेमा जानकारी दिन तथा मुलुकसँग हाइड्रोपावर परियोजना विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो,’ अध्यक्ष आचार्यले भने ।

३ दिनसम्म चल्ने एक्स्पोमा सय भन्दा बढी स्टल रहने बताइएको छ । जलविद्युत प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमा लगायत नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने बताइएको छ । ५० प्रतिशत विदेशी स्टल रहनेसमेत इपानले जनाएको छ । ५० हजार भन्दा बढीले एक्स्पोको अवलोकन गर्ने आयोजकको विश्वास छ ।

नेपालमा जलविद्युत तथा ऊर्जा क्षेत्रमा अभूतपूर्व क्रियाकलापसंगै उर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तिब्रता दिने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्यमा टेवा पुर्याउने लगायतका उद्देश्य सहित आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०२२ ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने आयोजकको विश्वास छ ।

You might also like

Comments are closed.