नेपालमा हुन्डाई मोटर एसेम्बली प्लान्ट, प्रधानमन्त्रीद्वारा उद्घाटन (फोटो फिचर)

परासी । हुन्डाई मोटरको एसेम्बली प्लान्ट नेपालमा सञ्चालनमा आएको छ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.को मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी ‘लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)’ रामग्राम, परासीमा प्लान्ट स्थापना गरेको हो । प्लान्टको शुक्रबार एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरा, नेपालका लागि दक्षिण कोरियाका राजदुत महामहिम पार्क ते यन्ग, हुन्डाई मोटर भारत लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किम तथा स्थानीय सरकारका जनप्रतिनिधि लगायतको उपस्थितिमा प्लान्ट स्थापना गरिएको हो ।

६५ हजार वर्ग मिटरको क्षेत्रफलमा फैलिएको एलएमसी ह्युण्डाई मोटर एसेम्बली प्लान्ट अन्तर्गत १४ हजार वर्ग मिटरमा निर्माण क्षेत्र छ । प्लान्टमा अरबौं रुपैयाँ लगानी गर्दै नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानीको उदाहरण हुन्डाईले प्रस्तुत गर्न सफल भएको छ ।
५ हजार इकाईको वार्षिक क्षमता भएको प्लान्टले हुन्डाई मोटर कम्पनी (एचएमसी) को सबै मापदण्डहरुको पालना गर्दै नेपालभर हुन्डाई मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य राखेको छ । एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको भनाई छ ।

आयात गरिएका पूर्ण रुपमा विभाजित हुने पाटपुर्जाहरुको सदुपयोग गरी यस आधुनिक संरचनामा त्यसको सतर्कता साथ संयोजन गर्ने प्रणालीले एलएमसीको गुणस्तर प्रतिको प्रतिबद्धतालाई देखाएको छ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपाली अटोमोबाइल औद्योगीकरण क्षेत्रको विकासमा हुन्डाई नेपालको योगदान र त्यसको फलस्वरूप वृद्धि भएको आर्थिक समृद्धि र रोजगार अवसरहरु माथि विशेष जोड दिए । यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ती स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए ।

हुन्डाई मोटर इण्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किमले परासीको रामग्राममा रहेको नेपालको नयाँ हुन्डाई मोटर एसेम्बली प्लान्टप्रति आफ्नो उत्साह व्यक्त गर्दै ग्राहकको सन्तुष्टिमा उन्नत प्रविधि र सीप हस्तान्तरणको प्रभावलाई प्रकाश पारे ।

उद्घाटन समारोह पछि भएको प्लान्ट भ्रमणले नेपालको मोटर गाडी उद्योगमा एक महत्वपूर्ण इतिहास रचेको प्रतिक्रिया प्राप्त भएको छ । जहाँ नेपालमा बनेको पहिलो ‘ह्युण्डाई भेन्यू’ को प्रदर्शन गरिएको थियो । योसँगै एलएमसीले ह्युण्डाई भेन्यूको उत्पादन अघि बढाइसकेको छ र कम्प्याक्ट एसयूभी खण्डमा विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ । प्लान्टले निकट भविष्यमा ह्युण्डाई मोटर्सका अन्य मोडलका गाडीहरुको पनि एसेम्बलिङ गर्ने लक्ष्य राखेको छ ।

ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै एलएमसीले सुलभ र पहुँचयोग्य ह्युण्डाई सवारी साधनहरुको उत्पादन हुने कम्पनीले जनाएको छ ।

नेपालमा हुन्डाई गाडीको १६ शोरूम, १९ सेवा केन्द्र र नेपालभर ४५ भन्दा माथि चार्जिङ प्वाइन्ट्स सहित लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा विशेष पहुँच कायम राखेको छ ।

कम्पनीको अनुसार एलएमसीमा ग्राहक सन्तुष्टि सुनिश्चित गर्न लक्ष्मी इन्टरकन्टिनेन्टलले दोस्रो र तेस्रो तहका बजारहरुमा पनि आफ्नो पहुँच विस्तार गर्ने योजना बनाएको छ ।

lcci
You might also like

Comments are closed.