मेड इन नेपाल हुन्डाई भेन्युको बिक्री सुरु, मूल्य सार्वजनिक

काठमाडौं । मेड इन नेपाल हुन्डाई भेन्युको बिक्री वितरण सुरु भएको छ । नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी) बाट नेपालमा नै हुन्डाई भेन्युको व्यावसायिक उत्पादन सुरु गरी बिक्री वितरण सुरु गरेको हो । कम्पनीले गाडीको मूल्य पनि सार्वजनिक गरेको छ ।

पहिलो चरणमा कम्पनीले दुई वटा भेरियन्टमा भेन्यु उत्पादन सुरु गरेको छ । ‘भेन्यु एफएल १.२ एस’ मोडलको मूल्य ४४ लाख ९६ हजार र ‘भेन्यु एफएल १.२ एसएक्स’को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ । गाडीको फिचर र विशेषता अनुसार नेपाली बजारमा सस्तो मूल्यमा गाडी उपलब्ध गराउन सफल भएको कम्पनीले दावी गरेको छ । हुन्डाईका शोरुमहरुमा गएर मेड इन नेपालको टेष्ट ड्राइभ गर्नुका साथै गाडी बुकिङ तथा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा प्लान्ट स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन गर्दै बजारमा ल्याउन सफल भएको हो । यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाई मोटर कम्पनी कोरिया र इन्डियामा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

प्रथम चरणमा हुन्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गरेको कम्पनीले आगामी दिनमा ग्राण्ड आइटेन र क्रेटाको उत्पादन पनि नेपालमै गर्ने तयारी गरेको छ।

lcci
You might also like

Comments are closed.