अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि लक्ष्मी हुन्डाईका २ प्राविधिक दक्षिण कोरिया प्रस्थान

काठमाडौं । सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान गरेका छन्। उनीहरूले Hyundai Global Learning Center मा आयोजना हुने Hyundai Talent Academy अन्तर्गत उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिबारे प्रशिक्षण लिनेछन्।

प्राविधिक शिक्षा, अप्रेन्टिससिप र रोजगारीसम्मको उनीहरूको यात्रा चार महिनामै पूरा भएको हो। यस अवधिमा उनीहरूले कक्षाकोठामा हासिल गरेको ज्ञानलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्दै सवारीसाधनको सर्भिसिङ, डायग्नोस्टिक र मर्मतसम्भारमा व्यावहारिक अनुभव हासिल गरेका छन्। अप्रेन्टिससिपपछि उनीहरूलाई लक्ष्मी हुन्डाईमै रोजगारीको अवसर प्रदान गरिएको बताइएको छ ।

लक्ष्मी हुन्डाईले CTEVT अन्तर्गतका पोलिटेक्निक संस्थामा अध्ययनरत वार्षिक ५० भन्दा बढी विद्यार्थीलाई इन्टर्नसिप तथा अप्रेन्टिससिपको अवसर प्रदान गर्दै आएको छ। यस पहलमार्फत विद्यार्थीलाई प्राविधिक ज्ञानसँगै कार्यस्थल अनुशासन, समस्या समाधान र व्यावसायिक सीप विकास गर्ने अवसर प्रदान हुँदै आएको छ।

Hyundai Talent Academy मार्फत प्राप्त अन्तर्राष्ट्रिय प्रशिक्षणले नेपाली प्राविधिकको सीपलाई थप परिष्कृत गर्दै उनीहरूले सिकेको ज्ञान र अनुभवलाई नेपालमै प्रयोग गर्ने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ। “सीप सिकेर विदेश जाने” मात्र होइन, “विश्वस्तरीय सीप सिकेर नेपालमै करियर बनाउने” वातावरण निर्माण गर्नु नै यस पहलको प्रमुख उद्देश्य हो।

You might also like

Comments are closed.