‘नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको हब बनाउन सकिन्छ’

लक्ष्मण के.सी., अध्यक्ष, आइप्यान

नेपालमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले विदेशी विश्वविद्यालयहरूको सम्बन्धमा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृती लिई नेपालमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूको साझा संस्था हो, इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) । यस संस्थाले नेपाल सरकारलाई मुलतः शिक्षा मन्त्रालयलाई विदेशी विश्वविद्यालयहरूको सम्बन्धमा सञ्चालित कलेजहरूलाई कसरी व्यवस्थित र नियमन गर्न सकिन्छ भन्ने बारेका बेला–बेलामा सल्लाह र सुझाव दिदैँ आएको छ । साथै, हामीले भोगिरहेका समस्याहरू समाधानका लागिसमेत अनुरोध गर्दै आएका छौं ।

संस्थाका योगदानहरू :

इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) अन्तर्गतका कलेजहरूमा हाल २६ हजार १ सय ३८ विद्यार्थी अध्ययनरत छन् । गरिब, जेहनदार तथा सिमान्तकृत समुदायका करिब ७ हजार पाँचसयले पूर्ण तथा आंशिक रुपमा छात्रवृत्ति प्राप्त गरेका छन् । आइप्यान अन्तर्गतका कलेजहरूमा २६ हजार भन्दा बढी विद्यार्थी अध्ययन गरिरहँदा युवाहरू पलायन हुनबाट रोकिएको मात्रै होइन, हाम्रो देशबाट बाहिरन सक्ने थप करिब ५२ अर्ब रूपैयाँ विदेशिनबाट पनि जोगिएको छ । हाम्रो संस्थामा आवद्ध कलेजहरूमा करिब सात हजारले प्रत्यक्ष र करिब १५ हजारले अप्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । हाम्रा अधिकांश ग्य्राजुयटहरूले नेपालमा नै पेशा व्यवसाय गरेर १०औं हजारलाई रोजगारी प्रदान गरिरहेका छन् । नेपालमा सूचना–प्रविधि (आइटी), फेसन डिजाइन र होटेल म्यानेजमेन्ट, Entrepreneurship, Digital Marketing,  Business Ethic, Data Analysis जस्ता कार्यक्रम तथा विषयहरू विदेशी विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजहरूले नै सर्व प्रथम पठन–पाठन शुरु गरेका हुन् ।

हाम्रो देशमा अहिले सूचना–प्रविधि (आइटी) क्षेत्रका उद्योगहरू हरेक वर्ष विस्तार भइरहेका छन् । गत आर्थिक वर्षमा मात्रै नेपालबाट विदेशीलाई सूचना–प्रविधि सेवा र प्रोडक्टहरू निर्यात गरेर ६७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)ले गरेको अध्ययनले देखाएको छ । सूचना-प्रविधि सेवा निर्यातबाट देशको कुल गार्हस्थ्य उत्पादनमा १.४ र वैदेशिक मुद्रा सञ्चितिमा ५.५ प्रतिशत योगदान गरेको देखिन्छ । नेपालमा सूचना–प्रविधि क्षेत्रका उद्योगहरूको विकास र विस्तारका साथै नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप इकोसिस्टम विकास गर्दै सोचलाई व्यवसायमा रूपान्तरण गर्न इन्क्युबेसन सेन्टर सञ्चालन गर्ने काममा विदेशी विश्वविद्यालयहरूको सम्बन्धन प्राप्त कलेजहरूको योगदान प्रत्यक्ष/परोक्ष रुपमा छ । हाम्रो संस्थामा आवद्ध कलेजहरूका ग्य्राजुयटहरू-खास गरेर सूचना–प्रविधि (आईटी), म्यानेजमेन्ट, होटेलम्यानेजमेन्ट र फेसन डिजाईनका क्षेत्रमा विश्व बजारमा अब्बल/प्रतिस्पर्धी देखिएका छन् ।

विदेशी विश्वविद्यालयहरूको सम्बन्धमा नेपालमा कलेजहरू सञ्चालन हुँदा Knowledge & Technology Transfer हुनु साथ साथै नेपाली प्राध्यापकहरूको शिक्षण कला र सिकाई अभिवृद्धि भएको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा मात्र १ लाख १० हजार २१७ युवाले उच्च शिक्षा हासिल गर्न विदेश जानको लागि नो अब्जेक्सन लेटर लिएका थिए । त्यसरी युवाहरू अध्ययनका लागि विदेश जाँदा औपचारिक माध्ययबाट मात्र १ खर्ब ४२ करोड रकम देशबाट बाहिएको छ । अनौपचारिक माध्ययमबाट त त्यसको ३÷४ गुणा बढी रकम बाहिरिएको अनुमान गर्न सकिन्छ । अध्ययनका लागि नेपालबाट औपचारिक माध्ययबाट बाहिरिने रकममा बिगत पाँच वर्षको तथ्याङ्क हेर्दा मात्रै पनि वार्षिक औसत ७० अर्ब रूपैयाँ बाहिरिने गरेको छ ।

अध्ययन लागि विदेश जाने नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्याहरू:

विभिन्न समयमा गरिएका अध्ययन-अनुसन्धानबाट के तथ्यहरू फेला परेको छ भने, गुणस्तरीय शिक्षाको खोजीमा विकसित मुलुकहरूमा जाने विद्यार्थीहरू मध्येमा करिब ७० प्रतिशतले जुन विषय वा तहमा पढ्न गएका हुन् त्यो विषय वा तह पुरा नै गर्दैनन् । सोही विषय वा तहको अध्ययनलाई निरन्तरता दिनेहरू मध्ये अधिकांशले आर्थिक समस्याका कारणले आफ्नो अध्ययन नै पुरा गर्न सक्दैनन् । जसले पुरा गर्दछन् तिनीहरूले पनि समयमा नै आफ्नो अध्ययन पुरा गर्न सक्दैनन् । अध्ययनका साथ-साथै रोजगारीको अभिलाषा सहित त्यहाँ पुगेका युवाहरू मध्ये विरलैले मात्र आफ्नो योग्यता अनुसारको काम पाउँछन् । बाँकी सबैले सामान्य निरक्षर व्यक्तिहरूले गर्ने (मजदुर वर्गले) स्तरको काम गर्न बाध्य छन् । युवाहरूको पलायनले हामीले हाम्रो देशमा आर्थिक, पारिवारिक, समाजिक तथा सांस्कृतिक लगायतका विभिन्न खाले समस्याहरूको सामना गर्नुपर्ने अवस्था सिर्जना हुँदैछ । त्यसैले हामी सबै सचेत भएर नेपालबाट युवा पलायनलाई रोक्नै पर्छ । सरकारको यसमा विशेष ध्यान पुग्नुपर्छ भन्ने हामी अनुरोध छ । प्रत्येक वर्ष हजारौंको संख्यामा युवा पलायन हुँदा हामीले निम्नानुसारका समस्याहरू भोगिरहेका छौं ।

– आर्थिक रुपमा सक्षम र औसत भन्दा राम्रो पढाई भएका राम्रो भविष्यको सम्भावना बोकेका युवाहरू विदेशिरहेका छन् । जसले गर्दा मानवपँुजीका साथ–साथै हरेक वर्ष अरबौँ रकम समेत बाहिरिरहेको छ ।

– एउटा युवालाई हुर्काउँदा तथा कक्षा १२ सम्ममा पढाउँदा राज्य र अभिभावको सरदर ३० लाख रूपैयाँ लगानी भएको हुन्छ । परिवार, समाज र देशका लागि योगदान गर्नसक्ने अवस्थाका हजारौंको संख्यामा युवाहरू पलायन हँुदा देशलाई हुने नोक्सानीको हिसाव किताव नै छैन ।

– आर्थिक अवस्था कमजोर हुने परिवारका युवाहरू आफ्नो सम्पूर्ण सम्पत्ति बैंकमा धितो राखी ऋण लिएर विदेशिएका हुन्छन् । उता तिनीहरूले आफै कमाएर अध्ययन शुल्क पनि तिर्न सक्दैनन् । यता बैंकको ऋण तिर्न नसक्दा बैंकहरूले सम्पत्ति लिलामी गर्दा परिवारको बिचल्ली भइरहेको छ ।

– यहाँ आमाबुवा तथा विदेशमा छोराछोरी दुबैमा एक्लोपन बढ्दो छ । मुलतः आर्थिक समस्याका साथै परिवारबाट टाढाहुँदा कयौँ युवाहरू डिप्रेशनको सिकार भएका छन् र आत्मा हत्या गर्नेको संख्यामा पनि वृद्धि भइरहेको छ ।

– नियमित कुराकानी वा भेट हुन नसक्दा श्रीमान्‌ श्रीमती बिचको सम्बन्धन नै टुङ्गिएका पनि छन् । परिवारका अन्य सदस्यसँगको सम्बन्धनमा चिसोपना बढिरहेको छ ।

– युवाहरू पलायन हुँदा अधिकांशका आमाबुवा बिरामी हुँदा अस्पताल पुर्याउने वा हेरविचार गर्ने समेत कोही छैनन् ।

-युवाहरूको पलायनका कारण नेपाली विश्वविद्यालयहरू र शिक्षण संस्थाहरूले विद्यार्थी नै पाउन छाडेका छन् । विदेशमा गएकाहरू पनि अधिकांश नेपालका शिक्षण संस्थाहरूको कम गुणस्तरका शिक्षण संस्थामा अध्ययन गरिरहेका छन् । धेरै त एकेडेमिक भन्दा पनि भोकेसनल कोर्सहरू अधययन गरिरहेका छन् । जसका कारण उनीहरूको करिअर ग्रोथमा पनि समस्या आउँछ ।

– नेपालको श्रम बजारले सक्षम युवाहरूको अभाव भोगिरहेको छ । उद्योग व्यवसायको विस्तारका लागि आवश्यक जनशक्तिको अभाव भइरहेको छ । उत्पादनमा मात्रे होइन उपभोगमा समेत ह्रास आएको छ ।

– युवाहरूको पलायनका कारण नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप इकोसिस्टमको विकास र विस्तारमा अवरोध सिर्जना भइरहेको छ ।

स्टडी इन नेपालको अवधारणाः

आइप्यानले नेपाललाई दक्षिण एशियाकै प्रमुख शैक्षिक गन्तव्यको रुपमा विकास गर्नका लागि स्टडी इन नेपालको अवधारणा ल्याएको छ । जस अन्तर्गत देश भित्र ‘Study in Nepal, Stay in Nepal’ ‘नेपाल मै पढौँ, नेपाल मै बसौँ’ भन्ने मूल नारासहितको IEPAN Study in Nepal Expo आयोजना गर्नेछ । नेपालबाट हरेक वर्ष हजारौँको संख्यामा उच्च शिक्षा हासिल गर्न विदेशीने युवाहरूलाई स्वदेश मै अध्ययन गर्ने वातावरण सिर्जना गर्न नेपाली विद्यार्थीका बिचमा अमेरिका, वेलायत, मलेसिया, थाइल्याण्ड, स्विजरल्याण्ड, अष्ट्रिया लगायत देशका विश्व प्रसिद्ध विश्वविद्यालयका डिग्री नेपालमै प्राप्त गर्न सकिन्छ भन्ने विषयको जानकारी गराउने हाम्रो उद्देश्य हो ।

विदेशी विद्याथीलाई अध्ययनका लागि नेपालमा ल्याउन अहिले उपयुक्त वातावरण सिर्जना भएको छ । हाम्रो देशमा धेरै पहिलेदेखि नै नेपाललाई ‘शैक्षिक हब’ बनाउने विषयमा वहस पनि हुँदै आएको छ । तर, शैक्षिक हब बनाउन गुणस्तरीय शिक्षा प्रदान गर्ने कुराको ग्यारेन्टी गर्नु जरुरी थियो । हाल आएर नेपालमा अमेरिका, वेलायत, मलेसिया, थाईल्याण्ड, स्विजरल्याण्ड, अष्ट्रिया लगायतका देशका विश्वविद्यालयहरूको सम्बन्धनमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूको संख्या ५६ पुगेको छ । नेपालमा विश्वस्तरका विश्वविद्यालयको डिग्री प्राप्त गर्ने अवसर पाउँदा विभिन्न देशबाट विद्यार्थी हाम्रो देशमा अध्ययनका लागि आउन लालायित हुने हामीलाई विश्वास छ । नेपालमा आएर सर्वसुलभ शुल्कमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा पाउनुका साथ–साथै हाम्रो देशको हावा पानी, भौगोलिक सुन्दरता, समाजिक सद्भाव, कुनै पनि धर्म वा जातिका मान्छेलाई भेद्भाव नगर्ने हाम्रो संस्कार आदिको कारण पनि नेपाल विदेशी विद्यार्थीहरूको रोजाइमा पर्नेछ ।

हाम्रो संस्थाले मुलतः हाम्रो देशसँग सीमा जोडिएका भारतका विभिन्न राज्यका साथै नेपालीभाषी वाहुल्य रहेका स्थानहरूमा; दक्षिण एसियाली देश बाङ्गलादेश, पाकिस्तान र भुटानमा; दक्षिणपूर्व एसियाका देश म्यानमार र कम्बोडियामा र अफ्रिकन देशहरूमा ‘Study in Nepal’ Campaign सञ्चालन गर्नेछ । ती देशमा सञ्चालन हुने एजुकेशन फेयरहरूमा भाग लिने छ र त्यहाँका विद्यार्थीहरूलाई अध्ययनका लागि नेपाल ल्याउने छ ।

हाम्रो देशले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया अत्यन्तै अव्यवहारिक बनाएको छ । जसका कारण उल्लेखित अवसर गुम्ने तथा हाम्रो मेहनत पनि खेर जाने अवस्था सिर्जना भएको छ । तसर्थ, नेपालमा अध्ययनका लागि आउन चाहने विद्यार्थीले सम्बन्धित देशमा रहेका हाम्रा नियोगहरूबाट वा अनलाइनबाट अध्ययन भिसा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने आवश्यकता छ । त्यसका लागि अध्यागमन नियमावली २०५१ मा आवश्यक संशोधनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्नुपर्नेछ ।

अध्ययन भिसा प्रदान गर्ने प्रक्रियालाई सहज बनाए उच्च शिक्षा तर्फ—व्यवस्थापन, सूचना–प्रविधि, मेडिसन, इञ्जिनियरिङ, होटेल म्यानेजमेन्ट, माउन्टेनेरिङ, पर्यटन, वन व्यवस्थापन, बौद्ध दर्शन, आयुर्वेदा, संस्कृतलगायतका विषय र ए—लेभल तथा आईबी डिप्लोमा पनि अध्ययन गर्न विदेशी विद्यार्थी नेपाल आउने छन् । सुरुवाती दिनमा सानो संख्यामा अध्ययनका लागि विदेशी विद्यार्थी अध्ययनका लागि हाम्रो देशमा आए पनि क्रमशः नेपाललाई दक्षिण एशियाकै शैक्षिक हबका रुपमा स्थापित गर्न सकिन्छ ।

विदेशी विद्यार्थी अध्ययनका लागि नेपालमा आउँदा पर्ने सकारात्मक प्रभावहरूः

विदेशी विद्यार्थी अध्ययनका लागि नेपालमा आउँदा नेपालको अर्थतन्त्रमा त प्रत्यक्ष प्रभाव पार्छ नै त्यो भन्दा पनि सकारात्मक प्रभाव नेपाली युवाहरूमा पर्छ । विदेशी विद्यार्थी अध्ययनका लागि नेपालमा आउँछन् हामी किन विदेश जाने भन्ने मनोभावनाको विकास हुनेछ । जुन विषय नेपालको विकास र समृद्धिको लागि एउटा टर्निङ प्वाइन्टहुन सक्छ । त्यसका साथ साथै पर्यटनको विकास र विस्तार र देशको अन्तर्राष्ट्रिय छविमा पनि सकारात्मक प्रभाव पर्नेछ । यसका साथै अन्य सकारात्मक प्रभावहरूलाई निम्नानुसार लिपिवद्ध गर्न सकिन्छ ।

– नेपालका शिक्षण संस्थाहरुले भोगिरहेको विद्यार्थीको समस्या समाधान हुनेछ ।

– शिक्षाको लागि रहेका वर्ष अरबौँ रूपैयाँ विदेशी रहेको परिप्रेक्षमा विदेशबाट शिक्षाका लागि नै रकम भित्रिने छ र क्रमशः बाहिरिने भन्दा भित्रिने रकम बढ्ने छ । विदेशी मुद्रा आर्जन गर्ने एउटा महत्वपूर्ण सेक्टर हुनेछ ।

– राज्यको शुन्य लगानीमा नेपालको पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार हुनेछ । पर्यटन क्षेत्रको विकास र विस्तारमा सकारात्मक प्रभाव पार्ने छ ।

– उर्जावान तथा उत्पादनशील युवा जनशक्तिको पलायन रोकिनुका साथ–साथै हरेक वर्ष देशबाट बाहिरिने अरबौँको रकम समेत विदेशिनबाट रोकिने छ ।

–  पारिवारिक, समाजिक तथा आर्थिक समस्याका कारण हामीहरूले भोगिरहेका समस्याहरूको समानधान हुनेछ ।

– नेपालको श्रम बजारले सामना गरिरहेको श्रमशक्तिको अभावको अन्त्य हुनेछ । उद्योग व्यवसायको विस्तार, उत्पादनमा वृद्धि तथा रोजगारीको सिर्जना हुनेछ ।

– नवयुवाहरूले नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप इकोसिस्टमको विकास र विस्तारमा सकारात्मक योगदान गर्ने छन् ।

अध्ययन भिसा प्रदान गर्ने हालको कानुनी व्यवस्थाः

अध्यागमन नियमावली, २०५१ (पाँचौ संशोधन, २०६४) को नियम ७ मा नेपालको कुनै शिक्षण संस्थामा अध्ययन, अध्यापन वा अनुसन्धान गर्न आउने विदेशीहरू, तिनका परिवारलाई अध्ययन भिसा दिने व्यवस्था छ । अध्ययन भिसाका लागि तपशिलका प्रक्रियाहरू पुरा गर्नुपर्छ ।

– नेपालका शिक्षण संस्थामा अध्ययन गर्न चाहने (भारत बाहेकका) व्यक्तिले सर्व प्रथम नेपालको प्रवेश विन्दुमा आएर अध्यागमन कार्यालयबाट पर्यटक भिसा लिनुपर्छ ।

– पर्यटक भिसामा नेपाल प्रवेश गरे पश्चात नेपालका शिक्षण संस्थामा अध्ययन गर्न चाहने विदेशी नागरिकले एक वर्षको शुल्क बुझाएर भर्ना गर्ने ।

– भर्ना भएको रसिद र सम्बन्धित शिक्षण संस्थाको सिफारिससहित अध्ययन भिसा सिफारिसका लागि शिक्षा मन्त्रालयमा निवेदन दिने ।

– जुन देशको विद्यार्थी हो सोही देशको सरकारबाट विदेश अध्ययन गर्नको लागि जारी भएको एनओसी लेटरसमेत पेश गर्नुपर्ने ।

– सार्क राष्ट्र बाहेकका देशबाट अध्ययनका लागि नेपाल आउने व्यक्तिले वार्षिक न्यूनतम तीन हजार अमेरिकी डलर, निजका परिवारको हकमा दुई हजार अमेरिकी डलर वा सो वरावरको नेपाली मुद्रा खर्च गर्न सक्ने आधिकारिक स्रोत वा सो बराबरको नेपाली मुद्रा स्थानीय बैंकमा मौज्दात रहेको कागजात पेश गर्नुपर्ने ।

–  विद्यार्थीको बायोडाटा, पासपोर्ट, जुन तहको अध्ययन गर्ने हो त्यो भन्दा तल्लोतहको अध्ययन पुरा गरेका शैक्षिक प्रमाणहरूको प्रमाणित प्रतिलिपिहरूसहित अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्दछ ।

– उपरोक्त प्रक्रिया पुरा गरे पछि अध्यागमन विभागका महानिर्देशकले प्राविधिक विषयमा बाहेक एक पटकमा एक वर्षका लागि अध्ययन भिसा प्रदान गर्ने ।

अध्ययन भिसा सहज प्रदान गर्न मिलाउनुपर्ने कानुनी व्यवस्थाः

– अध्यागमन नियमावली, २०५१ लाई संशोधन गरेर विदेश स्थित नेपाली नियोगबाट नै अन्तराष्ट्रिय विद्यार्थी भर्नाका लागि अनुमति प्राप्त शिक्षण संस्थामा भर्ना भए पश्चात सम्बन्धित शिक्षण संस्थाको सिफारिसमा आवश्यक प्रक्रिया पुरा गरेर अध्ययन भिसा दिने व्यवस्था गर्ने, वा

– उल्लेखित प्रक्रिया पुरा गरे पश्चात अनलाईन आवेदन लिएर अनलाईनबाटै अध्ययनका लागि ई–भिसा प्रदान गर्ने ।

– प्राविधिक विषयमा बाहेक एक पटकमा एक वर्षका लागि अध्ययन भिसा प्रदान गर्ने व्यवस्थालाई परिवर्तन गरेर सबै विषयमा अध्ययन (शैक्षिक उपाधि) अवधिसम्मको लागि भिसा दिने कानुनी व्यवस्था गर्ने ।

– अध्ययन भिसा शुल्क प्रति वर्ष एक सय अमेरिकी डलर छ । सकेसम्म निःशुल्क अध्ययन भिसा दिने व्यवस्था गर्ने वा त्यसो गर्न नसक्दा भिसा शुल्क घटाएर अध्ययन अवधि (शैक्षिक उपाधि)का लागि नै एक सय अमेरिकी डलर बनाउने ।

– अध्यागमन नियमावली, २०५१ (पाँचौ संशोधन, २०६४) को नियम ७ को उपनियम १ मा नेपालको कुनै शिक्षण संस्थामा अध्ययन, अध्यापन वा अनुसन्धान गर्न आउने विदेशीहरू, तिनका परिवारलाई अध्ययन भिसा दिइने छ भन्ने व्यवस्था भए पनि व्यवहारमा नेपालमा अध्यापन गर्न आउने विदेशीहरू, तिनका परिवारलाई भिसा दिने प्रक्रिया अत्यन्तै झन्झटिलो छ यसलाई सहज बनाई सम्बन्धित शिक्षण संस्थाको सिफारिसमा (एकद्वारा प्रणालीबाट) भिसादिने व्यवस्था गर्ने ।

हामीले उठाएका उपरोक्त विषयलाई मनन् गर्दै समाधानका लागि माननीय उपप्रधानमन्त्रीज्यूले आवश्यक निर्णय गरिदिनुहुने छ भन्नेमा हामी पूर्ण विश्वस्त रहेका छौँ ।

(इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)ले उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा आधारित)

You might also like

Comments are closed.