काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा बिहीबार अमरपाली बैंक्वेट, भाटभटेनी, नक्शाल, काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा सन्चलक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको सुरक्षा गर्दै प्राकृतिक र मानव सिर्जित जोखिमबाट उत्पन्न आर्थिक संकटबाट बचाउमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जानकारी दिएका छन् । उनले बीमा बजारको विकास, विश्वसनीयता र स्थायित्व कायम राख्न कम्पनीले २८ वर्ष सफलतापूर्वक योगदान पुर्याएको उल्लेख गरे ।
सभाले समीक्षा वर्षमा कम्पनीले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतीमा पारित गरेको छ । त्यस्तै, कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा जग्गामा निर्माण भएको ११ तल्ला भवन, २ तल्ला पार्किङ्गसहित सम्पन्न भएको र प्रमुख कार्यालय नारायणचौरबाट त्यहाँ सर्ने योजना पनि सभामा प्रस्तुत भयो । भवनको ४ तल्ला कम्पनीको लागि प्रयोग गरिने र अन्य तल्ला भाडामा दिइ आम्दानी जुटाउने योजना रहेको जानकारी दिइयो ।
सभामा ढकालले वर्तमान विश्वव्यापी आर्थिक प्रतिस्पर्धाको अवस्थामा सूचना प्रविधिको उपयोगमार्फत छरितो, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्नु अपरिहार्य भएको उल्लेख गर्दै, कम्पनीले प्रविधिमैत्री सेवामा जोड दिएको र आगामी आर्थिक वर्षमा अझ बढी डिजिटल, सरल र ग्राहकमैत्री सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले देशका सातै प्रदेशमा रहेको ९० शाखा सञ्जालमार्फत ५३१ कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयरमार्फत सेवा प्रदान गरिरहेको र नयाँ प्रधान कार्यालयबाट सेवा संचालन हुने जानकारी दिएका छन् ।
चुक्ता पूँजी रु. ३ अर्ब २ करोड सहित आईजीआई प्रुडेन्सियल नेपालमा निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा ठूलो कम्पनी रहेको छ । समीक्षा वर्षमा कम्पनीको बीमा प्रिमियम रु. ३ अर्ब ८६ करोड ५९ लाख पुगेको छ, जसमा ६. ३२ प्रतिशत वृद्धि भएको छ । कूल दावी संख्या १८,५०० को लागि रु. २ अर्ब ४६ करोड ३३ लाख भुक्तानी गरिएको छ भने विभिन्न कर वापत सरकारलाई र.। ७९ करोड ८७ लाख भुक्तानी गरिएको छ ।
कम्पनीले स्वास्थ्य बीमामा नयाँ योजनाहरू ल्याउँदै नगद रहित सेवा नेपालका अधिकांश अस्पताल र भारतमा पनि उपलब्ध गराएको छ । त्यस्तै, विदेशी पर्यटकहरूको लागि ट्रेकिङ्ग र पर्वतारोहण बीमाको सुरुवात गरिएको छ, जसले दुर्घटना वा उचाइजन्य रोगमा नगद रहित उपचार सुविधा प्रदान गर्नेछ ।
सभाको अन्त्यमा अध्यक्ष ढकालले शेयरधनी, ग्राहक, नेपाल सरकारका निकाय र नियामक संस्थाहरूप्रति धन्यवाद व्यक्त गर्दै सबै प्रस्तावहरू पारित भएको घोषणा गरे ।




Comments are closed.