काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले वित्तीय अपराध निवारण तथा सम्पत्ति शुद्धीकरण (AML/CFT) सम्बन्धी अनुपालनमा आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै एक दिने विशेष तालिम तथा सेमिनार सम्पन्न गरेको छ ।
कम्पनीले मिति २०८२ वैशाख १८ गते मंगलबार, काठमाडौँको जमलस्थित यल्लो प्यागोडा होटलमा उक्त तालिम आयोजना गरेको हो । कम्पनीका उच्च व्यवस्थापनको उपस्थितिमा सम्पन्न कार्यक्रममा कम्पनीका विभागीय प्रमुखहरु, बागमती प्रदेश प्रमुख तथा क्लेम, अकाउन्टस् एण्ड फाइनान्स, एड्मिन, एचआरडी, कम्प्लायन्स एण्ड एएमएल, अन्डरराइटिङ, आईटी, पुनर्बिमा विभागका प्रमुखहरु लगायत सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो । साथै, उपत्यकास्थित हरेक शाखा कार्यालयमा कार्यरत अन्डरराइटिङ तथा क्लेमका कर्मचारीहरु पनि तालिममा सहभागी थिए ।
कार्यक्रममा AML/CFT का विज्ञ प्रशिक्षक डा. हरि कुमार नेपाल तथा श्री पदम सोडारीले यस क्षेत्रको वर्तमान अवस्था र कम्पनीले भविष्यमा पालना गर्नुपर्ने महत्वपूर्ण विषयहरुमा प्रकाश पार्नुभएको थियो । उहाँहरुले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रावधान र चुनौतीहरुबारे जानकारी गराए ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले तालिमको महत्वमाथि जोड दिँदै उपस्थित सबैलाई निर्देशन दिनुभयो । उहाँले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्ना मातहतका कर्मचारीहरुबाट दैनिक कार्यसम्पादन गर्दा नियामक निकायहरुले दिएका निर्देशन, प्रचलित ऐन, नियम, कानुन र उच्च व्यवस्थापनबाट समय-समयमा जारी हुने परिपत्र तथा निर्देशनहरुको अक्षरसः पालना गराउनुपर्ने बताउनुभयो । ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्न र दैनिक कार्यमा अनुपालनलाई पूर्ण रुपमा आत्मसात गरी अगाडि बढ्न उहाँले निर्देशन दिए ।
त्यसैगरी, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मीज्यूले सबै विभागीय प्रमुखमार्फत विभागका कर्मचारीहरुलाई तथा प्रदेश प्रमुखमार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिँदै दैनिक कार्यसम्पादन गर्दा ग्राहक पहिचान (KYC) प्रक्रियालाई तोकिए बमोजिम पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए । उनले ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पूर्ण पालना गर्दै कार्य गर्न आग्रह गरे ।
यो तालिमले कम्पनीका कर्मचारीहरुलाई AML/CFT सम्बन्धी नवीनतम जानकारी प्रदान गर्नुका साथै अनुपालन संस्कृतिलाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिइएको छ ।
Comments are closed.