नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा

काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्ताका लागि सहभागिताको व्यवस्था मिलाएको छ। यस कार्यक्रम अन्तर्गत खल्ती मार्फत रु. १०० भन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक तथा पाक्षिक उपहार छनोटमा सहभागी हुनेछन्।

कार्यक्रमअन्तर्गत प्रत्येक दिन एक जना विजेताले कर कट्टीपछि रु. १ लाख र प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले रु। १० लाख प्राप्त गर्नेछन्। खल्तीमार्फत गरिएको योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत आन्तरिक राजस्व विभागको प्लेटफर्ममा स्वतः पुग्नेछ। उपहार कुपन स्वतः सिर्जना हुने र त्यसलाई खल्ती एपमार्फत हेर्नसमेत सकिने भएकाले कार्यक्रममा सहभागिता थप सहज हुनेछ।विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गरी मोबाइल फोन तथा इमेलमार्फत जानकारी गराउनेछ। खल्तीमार्फत सहभागी भई विजेता बनेका प्रयोगकर्तालाई खल्तीले समेत विभिन्न माध्यममार्फत जानकारी प्रदान गर्नेछ।

सरकारको यस पहलमा सहभागी हुँदै खल्तीले बिलमा आधारित कारोबारको अभ्यासलाई विस्तार गर्न तथा डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास बढाउन सहयोग गर्ने लक्ष्य राखेको छ। यसबाट कारोबारको अभिलेखीकरण सहज भई औपचारिक अर्थतन्त्र र राष्ट्रिय राजस्व प्रणालीको सुदृढीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, “सरकारको यस महत्त्वपूर्ण पहललाई खल्तीका प्रयोगकर्तासम्म सहज रूपमा पुर्याउन पाउँदा हामी उत्साहित छौँ। सरकारी प्राथमिकतासँग सहकार्य गर्नु, वित्तीय पारदर्शिता प्रवर्द्धन गर्नु र डिजिटल अर्थतन्त्र निर्माणको राष्ट्रिय कार्यसूचीमा जिम्मेवार योगदान दिनु हाम्रो प्रतिबद्धता हो। सुरक्षित, सहज र समावेशी डिजिटल वित्तीय सेवामार्फत प्रत्येक नेपालीलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने हाम्रो प्रयास निरन्तर रहनेछ।”

आईएमई खल्ती लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी सेवा प्रदायक संस्था हो। आईएमई पे र खल्तीको एकीकरणबाट निर्मित कम्पनी ‘कम्पनी ‘Khalti by IME’ ब्रान्डअन्तर्गत सञ्चालित छ। १ करोड २७ लाखभन्दा बढी दर्ता भएका प्रयोगकर्तासहित खल्तीले डिजिटल भुक्तानी, मर्चेन्ट क्यूआर, बिल भुक्तानी, टिकटिङ, रेमिट्यान्स तथा विभिन्न वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।

You might also like

Comments are closed.