खल्तीले गर्यो ‘खल्ती होटल्स’ सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले ‘खल्ती होटल्स’ (khalti Hotels) सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा बढी ३ देखि ५ तारे होटलहरू खल्ती एपबाटै तुरुन्तै बुकिङ र भुक्तानीसमेत गर्न सक्नेछन् ।

यो सेवा स्याफायर म्यानेजमेन्ट ग्रुप प्रा.लि.सँगको प्राविधिक साझेदारीमा सञ्चालन गरिएको हो । बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित छ र भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्कालै बुकिङ कन्फर्मेसन प्राप्त गर्नेछन्। आन्तरिक उडान तथा बस बुक गर्ने प्रयोगकर्ताले अब गन्तव्यमा बास बस्ने होटलसमेत बुक गर्न सक्ने भएकाले खल्ती अब भुक्तानी सेवामा मात्र सीमित नरही सम्पूर्ण यात्रा व्यवस्थापन गर्ने प्लेटफर्मका रूपमा विस्तार भएको छ ।

‘यात्रा अझ सजिलो खल्ती मै’ भन्ने अभियानका साथ सुरु भएको यस सेवाको अवसरमा खल्तीले सुरुवाती अफरसमेत सार्वजनिक गरेको छ । सुरुवाती अफर अवधिभर होटल बुक गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथाद्वारा छानिएका २० जना भाग्यशाली विजेताले प्रतिबुकिङ अधिकतम रु. १,५०० सम्मको ५०% क्यासब्याक प्राप्त गर्नेछन् ।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक पर्यटन बढ्दै गएको यस समयमा उडान, बस र होटल दुवै एउटै एपबाट बुक गर्न सकिने सुविधाले नेपाली यात्रुको अनुभवलाई थप सहज बनाउने र खल्ती होटल्स हाम्रो ‘एउटै एपमा सम्पूर्ण यात्रा’ भन्ने दीर्घकालीन लक्ष्यतर्फको महत्वपूर्ण कदम रहेको बताए ।

स्याफायर म्यानेजमेन्ट ग्रुपका निर्देशक आशिष प्रसाईले भने, ‘खल्तीसँगको यस साझेदारीले नेपालका होटल व्यवसायीलाई १ करोडभन्दा बढी डिजिटल प्रयोगकर्तासम्म प्रत्यक्ष पहुँच दिनेछ भने यात्रुलाई भरपर्दो र प्रमाणित बासस्थानको सुनिश्चितता प्रदान गर्नेछ ।’

खल्ती होटल्स सेवा खल्ती एपको ट्राभल तथा इन्टरटेनमेन्ट खण्डमा उपलब्ध छ । बुकिङसम्बन्धी सहयोगका लागि प्रयोगकर्ता तथा होटल ब्यबसायी दुवैका लागि ग्राहक सहायता सेवा उपलब्ध रहनेछ ।

You might also like

Comments are closed.