नेपाल-भारत सहयोग : १० वटा कैदी वाहक गाडी हस्तान्तरण

वीरगञ्ज । नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत नेपाल सरकारलाई अशोक लेल्याण्डका १० वटा कैदी वाहक गाडी हस्तान्तरण गरिएको छ । वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रममा आईएमई मोटर्सका उप–महाप्रबन्धक (डीजीएम) सुशील सुवेदीले नेपालस्थित भारतीय महावाणिज्यदूत देवी सहाय मीनालाई ती सवारी साधन औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो । लगत्तै महावाणिज्यदूत मीनाद्वारा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई उक्त सवारी साधनहरू हस्तान्तरण गरियो ।

विशेष सुरक्षा प्रयोजनका लागि तयार गरिएका अशोक लेल्याण्डका ‘पार्टनर’ मोडलका यी गाडीहरू आधुनिक प्रविधि, मजबुत संरचना तथा भरपर्दो कार्यसम्पादनका लागि परिचित छन् । कैदी ओसारपसार तथा सुरक्षा व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउन लक्षित यी गाडीहरूमा आधुनिक क्यामेरा प्रणाली जडान गरिएको छ, जसले निगरानी तथा सुरक्षा नियन्त्रणलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

यसका साथै, आरामदायी यात्रा, सुधारिएको सस्पेन्सन तथा चालक–मैत्री (ड्राइभर फ्रेण्ड्ली) डिजाइनले गाडीको सञ्चालनलाई अझ सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । उच्च सुरक्षा मापदण्ड तथा व्यावहारिक डिजाइनका कारण यी गाडीहरू सरकारी तथा संस्थागत प्रयोगका लागि उपयुक्त मानिएका छन् ।

यससँगै नेपाल–भारत सहयोग अन्तर्गत हालसम्म अशोक लेल्याण्डका कुल ६० वटा सवारी साधन हस्तान्तरण भइसकेका छन् । यसअघि ५० वटा मालवाहक गाडी हस्तान्तरण गरिएको थियो भने हाल थप १० वटा कैदी वाहक गाडी उपलब्ध गराइएको हो ।

नेपालमा सन् २०१६ देखि आईएमई मोटर्सले विश्वप्रसिद्ध अशोक लेल्याण्डका सवारी साधनहरू आधिकारिक रूपमा वितरण गर्दै आइरहेको छ । आईएमई मोटर्समार्फत नेपालभर अशोक लेल्याण्डका हल्का व्यावसायिक सवारी साधन (एलसीभी), ट्रक, टिपर तथा बसहरू उपलब्ध छन्, जसले आफ्नो विश्वसनीयता, मजबुती, आरामदायी यात्रा तथा उत्कृष्ट इन्धन दक्षता (माइलेज) का कारण बजारमा बलियो पहिचान बनाएका छन्।

You might also like

Comments are closed.