पोखरामा निःशुल्क शेयर बजार तालिम, इम्पेरियल सेक्युरिटिजको शाखा उद्घाटनसँगै सेवा सुरु

पोखरा। ग्लोबल मनी विक २०२६ को अवसरमा पोखरामा एक दिने निःशुल्क आधारभूत तथा प्राविधिक विश्लेषण सम्बन्धी शेयर बजार तालिम कार्यक्रम सम्पन्न भएको छ।

इम्पेरियल सेक्युरिटिज ब्रोकर नं. ४५ द्वारा आयोजित उक्त कार्यक्रममा कलेज तथा विभिन्न विश्वविद्यालयका विद्यार्थीसहित ठूलो संख्यामा सहभागीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम इम्पेरियल सेक्युरिटिजको फेसबुक पेज तथा नेप्से ट्रेडिङ डट कमको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले शेयर बजारमा लगानी गर्न ठूलो पूँजी आवश्यक नपर्ने र आफ्नो क्षमता अनुसारको सानो लगानीबाट पनि सुरु गर्न सकिने बताएका थिए। अन्य क्षेत्रजस्तो निश्चित पूँजीको बाध्यता नरहेकोले शेयर बजार अर्बपति देखि सामान्य लगानीकर्तासम्मका लागि खुला अवसर भएको उल्लेख गरिएको थियो।

नियामक निकायहरूको सक्रियता तथा ब्रोकर कम्पनीहरूको भूमिकाका कारण पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको पनि कार्यक्रममा जानकारी दिइयो। यद्यपि, लगानी गर्दा कुन कुरालाई प्राथमिकता दिने भन्ने ज्ञान सबैमा नहुन सक्ने भएकाले यस्ता तालिम कार्यक्रमहरूको आवश्यकता रहेकोमा जोड दिइयो।

कार्यक्रममा इम्पेरियल सेक्युरिटिजका कार्यकारी अध्यक्ष भत्तीराम घिमिरेको अध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी सहभागी भएका थिए भने विशिष्ट अतिथिहरूमा नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद तिमल्सिना तथा राष्ट्रिय बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भु प्रसाद मिश्र रहेका थिए।

त्यसैगरी, नेप्से ट्रेडिङ डट कमका कार्यकारी अध्यक्ष तथा विश्लेषक सन्दीप कुमार चौधरीले कार्यक्रममा फण्डामेन्टल र टेक्निकल विश्लेषण सम्बन्धी विशेष सत्र सञ्चालन गरेका थिए।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि डा. नवराज अधिकारीद्वारा पानसमा बत्ती बालेर गरिएको थियो भने राष्ट्रिय गानसँगै कार्यक्रमलाई थप औपचारिकता दिइएको थियो।

यसै अवसरमा इम्पेरियल सेक्युरिटिजले पोखरामा आफ्नो पाँचौं शाखा उद्घाटन गरेको जानकारी दिँदै ब्रोकर नं. ४५ मार्फत पोर्टफोलियो म्यानेजमेन्ट सेवा (PMS) तथा मार्जिन ट्रेडिङ सेवा समेत सुरु गरिएको घोषणा गरिएको छ।

साथै, ग्राहकलाई लक्षित गर्दै डिम्याट खाता र मेरो शेयर सेवा एक वर्षका लागि निःशुल्क उपलब्ध गराइने विशेष अफर पनि सार्वजनिक गरिएको छ।

कार्यक्रममा सहभागीहरूले शेयर बजारसम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेको र यस्ता कार्यक्रमहरूले लगानीकर्तालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

You might also like

Comments are closed.