इम्पेरियल सेक्युरिटिज ब्रोकर नं. ४५ को पाँचौं शाखा पोखरामा विस्तार

पोखरा । इम्पेरियल सेक्युरिटिज कम्पनी ब्रोकर नं. ४५ ले पोखरामा पाँचौं शाखा विस्तार गरी सेवाको शुरुवात गरेको छ । राष्ट्रबैंक चोकमा रहेको उक्त शाखाको आइतबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद तिमल्सिना तथा अग्रज लगानीकर्ता अम्बिका प्रसाद पौडेलले रिबन काटेर उद्घाटन गरेका हुन् ।

उद्घाटन पश्चात बोल्दै नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख तिमल्सिनाले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै आर्थिक क्रान्ति सम्भव हुने उल्लेख गर्दै वित्तीय क्षेत्रको विकासमा संयुक्त प्रयास आवश्यक रहेको बताए । इम्पेरियलको पोखरा शाखाको सफलताको कामना गरे ।

अग्रज लगानीकर्ता पौडेलले ब्रोकरहरूको विस्तारसँगै पुँजी बजारको दायरा तीव्र गतिमा विस्तार हुँदै गएको धारणा व्यक्त गरे । उनले यस्ता शाखा विस्तारले लगानीकर्ताको पहुँच बढाउँदै बजारलाई थप सुदृढ बनाउने बताए ।

नेप्से ट्रेडिङ डट कमका कार्यकारी अध्यक्ष सन्दीप कुमार चौधरीले इम्पेरियलको शाखा विस्तारसँगै ब्रोकर कम्पनीहरुले सूचना प्रविधिको प्रयोगमा पनि ध्यान दिनुपर्ने सुझाव दिए । उनले आधुनिक प्रविधिको प्रयोगमार्फत लगानीकर्तालाई थप सहज र प्रभावकारी सेवा दिन सकिने र राष्ट्रिय परिचयपत्रलाई दोश्रो बजारमा अनिवार्य भैसकेकाले ग्राहकलाई धेरै फाराम र अरु डकुमेण्टहरु बोक्दै हिड्नु नपर्ने गरी सबै विवरण राष्ट्रिय परिचयपत्रको लिंकमार्फत तानेर उपयोग गर्न धितोपत्र बोर्ड, नेपाल स्टक एकसचेञ्जसँग समन्वय गर्न सुझाव दिए ।

इम्पेरियल सेक्युरिटिजका कार्यकारी अध्यक्ष भत्तिराम घिमिरेले बजार विस्तारको रणनीति अनुसार पोखरामा पाँचौं शाखा स्थापना गरिएको जानकारी दिँदै कम्पनीले छिट्टै नै मार्जिन ट्रेडिङ र पोटीफोलियो सेवा सूचारु गर्न आँटेकाले सबै शाखा मार्फत यो सेवा उपलब्ध हुने भन्दै सम्पूर्ण लगानीकर्ताबाट सकारात्मक साथ र सहयोग प्राप्त हुनेमा आफू आशावादी रहेको बताए ।

कम्पनीले शाखामार्फत बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेवा लिन सकिने गरी कार्यालय खुल्ने जनाएको छ । लगानीकर्ता बरुण प्रसाद सापकोटाले ९ बजेदेखि ६ बजेसम्म सेवा लिन सकिने हुँदा निर्धारित कार्यालय समयमा आफ्नो कार्यालय पुगिसक्नुपर्ने जागिरदारहरुले इम्पेरियलबाट सेवा लिई कार्यालय उपस्थित निकै सहज हुने बताए ।

इम्पेरियलका पोखरा शाखा प्रमुख अर्जुन बरालले कटिबद्ध सेवा प्रदान गर्ने पार्किङको झन्झटबाट मुक्त स्थानमा शाखा रहेको बताए । शाखा उद्घाटनको अघिल्लो दिन इम्पेरियल सेक्युरिटिजले निःशुल्क आधारभूत तथा प्राविधिक विश्लेषणसम्बन्धी तालिम कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा विज्ञ तथा अग्रज लगानीकर्ता पौडेल र नेप्से ट्रेडिङ डट कमका कार्यकारी अध्यक्ष सन्दीप कुमार चौधरीले प्रस्तुतीकरण राखेका थिए । कार्यक्रममा करिब ४ सय जना लगानीकर्ताले सहभागीता जनाएका थिए ।

You might also like

Comments are closed.