काठमाडौं । छिमेकी मुलुक भारतले २ सय वटा मिर्गौला डायलासिस मेसिन सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार एक समारोहका बीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले मेसिन हस्तान्तरण गरेका हुन् । करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो।
समारोहमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरीले मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे । मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताए ।
उनले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली नागरिकले सदास्मरण गरिरहने बताए ।
उनले भने, ‘दुई देशबीचको कुटनीतिक सम्बन्ध स्थापित भएको ७६ वर्ष पूरा भएको छ । यसबीचमा दुई देशबीच सरकार सरकारको बीचमा मात्रै नभइ नागरिकको स्तरमा पनि सुमधुर सम्बन्ध रहँदै आएको छ । दुई देशबीच आर्थिक, सामाजिक सबै रुपले घनिष्ट सम्बन्ध छ । यो हाम्रो ऐतिहासिक पक्ष हो।ु
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिबद्धता समेत व्यक्त गरे । नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।
भारतले कोरोना भाइरस सङ्क्रमणका बेला पनि १ सय ३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो।
Comments are closed.