पोखरा । धार्मिक तथा पर्यटकीय भ्रमणका क्रममा नेपाल आएका भारतीय पर्यटकहरूको टोलीले रसुवाका भोटेकोशी बाढीपीडितका लागि कुल ३ लाख १ हजार १११ रुपैयाँ राहत सहयोग प्रदान गरेका छन् । भारतको अहम्दाबादस्थित ‘श्री कच्छ वागड लोहाणा महाजन ट्रष्ट’को आयोजनामा सञ्चालित ‘श्री पशुपतिनाथ–मुक्तिनाथ दिव्य नेपाल यात्रा २०२६’ मा सहभागी टोलीले सुरुमा घोषणा गरिएको २ लाख ५१ हजार रुपैयाँ सहयोगमा थप ५० हजार १११ रुपैयाँ थप सहयोग गरेका हुन् । निलेश ठक्कर लगायतका सदस्यहरूबाट उक्त सहयोग रकम जम्मा गरिएको हो ।
मुक्तिनाथ, पोखरा, पशुपतीनाथ लगायत नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको भ्रमण गरी टोली भारत फर्किएको छ । भारतबाट उनीहरुले थप सहयोग नेपाल पठाएका हुन् । निलेश ठक्करको नेतृत्वको प्रतिनिधिमण्डलले यस अगाडि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराललाई राहत रकमको चेक हस्तान्तरण गरेका थिए । थप रकम पोखराका पर्यटन व्यवसायी गुप्त गिरीमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ ।
निलेश ठक्करले नेपालसँगको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन र विपद्को समयमा सहयोगको हात बढाउन पाउँदा खुसी लागेको बताए । “हामी पशुपतिनाथ र मुक्तिनाथको दर्शनका साथै नेपालको पर्यटकीय सौन्दर्य अवलोकनका लागि आएका थियौं,” ठक्करले भने, “रसुवाको भोटेकोशी क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे जानकारी पाएपछि पीडित दाजुभाइ तथा दिदीबहिनीलाई थोरै भए पनि राहत पुगोस् भनेर यो सहयोग हस्तान्तरण गरेका हौँ ।”

उनीहरुको भ्रमणको व्यवस्थापन गरिरहेको नेबिरा होलिडेजका निर्देशक बाबुराम पाण्डेले विदेशी पर्यटकहरूले भ्रमणका क्रममा देखाएको सामाजिक उत्तरदायित्वको प्रशंसा गरे । “धार्मिक र पर्यटन यात्रामा आएका पाहुनाहरूले स्थानीय विपद् र पीडामा देखाएको यो तत्परता अत्यन्तै सराहनीय छ,” पाण्डेले भने, “पर्यटन व्यवसायसँगै सामाजिक सेवा र मानवीय भावना जोडिनु एउटा राम्रो उदाहरण हो ।”





Comments are closed.