रसुवाका बाढीपीडितलाई भारतीय पर्यटकको साथ

पोखरा । धार्मिक तथा पर्यटकीय भ्रमणका क्रममा नेपाल आएका भारतीय पर्यटकहरूको टोलीले रसुवाका भोटेकोशी बाढीपीडितका लागि २ लाख ५१ हजार रुपैयाँ राहत सहयोग गरेका छन् । भारतको अहम्दाबादस्थित ‘श्री कच्छ वागड लोहाणा महाजन ट्रष्ट’को आयोजनामा सञ्चालित ‘श्री पशुपतिनाथ–मुक्तिनाथ दिव्य नेपाल यात्रा २०२६’ मा सहभागी टोलीले उक्त सहयोग रकम जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत हस्तान्तरण गरेको हो ।

मुक्तिनाथ दर्शन गरी पोखरा भ्रमणमा रहेका तीर्थयात्रा तथा पर्यटन समितिका सभापति निलेश ठक्करको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराललाई राहत रकमको चेक हस्तान्तरण गरेको छ । धार्मिक यात्राका क्रममा नेपालका प्राकृतिक विपद् प्रभावित नागरिकलाई सानो भए पनि मानवीय सहयोग पु¥याउने उद्देश्यले सो रकम प्रदान गरिएको ट्रष्टले जनाएको छ ।

सहयोग हस्तान्तरणका अवसरमा ठक्करले नेपालसँगको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन र विपद्को समयमा सहयोगको हात बढाउन पाउँदा खुसी लागेको बताए । ‘हामी पशुपतिनाथ र मुक्तिनाथको दर्शनका साथै नेपालको पर्यटकीय सौन्दर्य अवलोकनका लागि आएका हौँ,’ अध्यक्ष लहानीले भने, ‘रसुवाको भोटेकोशी क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे जानकारी पाएपछि पीडित दाजुभाइ तथा दिदीबहिनीलाई थोरै भए पनि राहत पुगोस् भनेर यो सहयोग हस्तान्तरण गरेका हौँ ।’

भ्रमणको व्यवस्थापन गरिरहेको नेबिरा होलिडेजका निर्देशक बाबुराम पाण्डेले विदेशी पर्यटकहरूले भ्रमणका क्रममा देखाएको यो सामाजिक उत्तरदायित्वको प्रशंसा गरे । ‘धार्मिक र पर्यटन यात्रामा आएका पाहुनाहरूले स्थानीय विपद् र पीडामा देखाएको यो तत्परता अत्यन्तै सराहनीय छ,’ प्रबन्ध निर्देशक उनले भने, ‘पर्यटन व्यवसायसँगै सामाजिक सेवा र मानवीय भावना जोडिनु एउटा राम्रो उदाहरण हो ।’

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सहयोग रकम ग्रहण गर्दै ट्रष्टको टोलीलाई धन्यवाद ज्ञापन गरे । उनले प्राप्त रकम बाढीपीडितको राहत तथा पुनस्थापनाका लागि यथाशीघ्र सम्बन्धित निकायमा पठाइने प्रतिबद्धता जनाए ।

You might also like

Comments are closed.