स्वास्थ्य बीमा गराउनेमा महिलाको संख्या धेरै

गोरखा । गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आवद्ध भएका छन् । विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरुआत भएको थियो ।

स्वास्थ्य बीमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीका अनुसार एघार स्थानीय तह रहेको जिल्लाभित्र स्वास्थ्य बीमा गराउनेको सङ्ख्या गोरखा नगरपालिकामा सबैभन्दा धेरै रहेका छन् । “एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकाभित्र सबैभन्दा धेरैले स्वास्थ्य बीमा गराएका छन्”, उनले भने, “नगरपालिकामा अहिलेसम्म २१ हजार सात सय १८ जनाले स्वास्थ्य बीमा गराइसकेका छन् ।”

उनले जिल्लाको चुमनुब्री गाउँपालिकामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सबैभन्दा न्यून रहेको जानकारी दिए । “चुमनुब्री गाउँपालिकामा अहिलेसम्म सात सय ७४ जनामा मात्र स्वास्थ्य बीमाको पहुँचमा रहेको छ । प्रमुख लौडारीले भने ।” उनका अनुसार पालुङटार नगरपालिकाभित्रका १६ हजार एक सय ५१ जनाले स्वास्थ्य बिमा गराएका छन् भने सिरानचोक गाउँपालिकाका नौ हजार नौ सय ४२ जनाले अहिलेसम्म स्वास्थ्य बीमा गराएका छन् ।

प्रमुख लौडारीले स्वास्थ्य बीमा गराउनेमा आरुघाट गाउँपालिकाका आठ हजार तीन सय ३४ , भीमसेन थापा गाउँपालिकाका सात हजार आठ सय ४८ , अजिरकोट गाउँपालिकाका दुई हजार चार सय १३ , बारपाक सुलिकोट गाउँपालिकाभित्रका छ हजार, गण्डकी गाउँपालिकाका पाँच हजार तीन सय १० र धार्चे गाउँपालिका एक हजार आठ सय ९३ रहेको जानकारी दिए ।

उनले गोरखामा स्वास्थ्य बिमा गराउनेमध्ये पुरुषको तुलनामा महिलाको सङख्या बढी रहेको बताए । “स्वास्थ्य बिमा गराएकामध्ये ४२ हजार एक सय १४ जना पुरुष रहेका छन्”, उनले भने, “स्वास्थ्य बिमा गराउने महिलाको सङ्ख्या भने गोरखामा ४६ हजार छ सय दुई जना रहेको छ ।” स्वास्थ्य बिमा गराएकामध्ये एक हजार नौ सय ३३ जना अतिगरिब घरपरिवार पहिचान भएका व्यक्तिको निःशुल्क बिमा गरिएको उनले जानकारी दिए ।

त्यस्तै १५ हजार नौ सय चार जना ज्येष्ठ नागरिक, पाँच सय ९८ जना ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति तथा तीन सय ४३ जना एचआइभी सङ्क्रमित व्यक्तिको पनि निःशुल्क बिमा गरिएको उनले बताए । पाँच परिवार भएका परिवारले एक वर्षको रु तीन हजार पाँच सय तिरेपछि एक वर्षसम्म तोकिएको अस्पतालबाट प्रतिव्यक्ति रु एक लाख बराबरको उपचार सेवा प्राप्त गर्ने प्रमुख लौडारीले जानकारी दिए ।

पाँच जनाभन्दा बढी सदस्य रहेका परिवारले थप एक व्यक्तिको रु सात सय थप गरेर बीमा गर्नसक्ने व्यवस्था रहेको उनले जानकारी दिए । गोरखा जिल्लामा बिमा गराएका व्यक्तिले गोरखा अस्पताल, आँपपीपल अस्पताल, मकैसिंह प्राथमिक स्वास्थ्य केन्द्र, जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिनसक्ने गरी स्वास्थ्य संस्था सूचीकृत रहेको प्रमुख लौडारीले बताए । रासस

You might also like

Comments are closed.