काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिको बीमा दावी हालसम्म रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ निर्जीवन बीमा कम्पनीमा जम्मा १ हजार ९८४ वटा बीमा दावी दर्ता भएका छन्।
सबैभन्दा बढी दावी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। सो कम्पनीमा ४० दावी दर्ता भई रु पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार बराबरको क्षतिपूर्ति माग गरिएको छ। त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २५८ दावी दर्ता भई रु चार अर्ब ९३ करोड २२ लाख ७९ हजार ५००, शिखर इन्स्योरेन्समा ३६६ दावी भई रु दुई अर्ब ३९ करोड चार लाख ७७ हजार ७६४ बराबरको दावी दर्ता भएको छ।
त्यस्तै, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा २४ दावीमा रु एक अर्ब ५९ करोड छ लाख ८० हजार ८००, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ दावीमा रु एक अर्ब ४७ करोड ५५ लाख ३१ हजार ६६६, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ दावीमा रु एक अर्ब १५ करोड ६२ लाख ८२ हजार ९७९, नेको इन्स्योरेन्समा ४० दावीमा रु एक अर्ब नौ करोड ५३ लाख ६५ हजार २०७ बराबरको बीमा दावी भएको छ।
सानिमा जिआइसीमा १२९ दावीमा रु ७८ करोड ९३ लाख ७९ हजार, राष्ट्रिय बीमा कम्पनीमा १७२ दावीमा रु ४९ करोड ५१ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा १७० दावीमा रु ४८ करोड ७४ लाख ७५ हजार ३६०, नेपाल इन्स्योरेन्स कम्पनीमा ७९ दावीमा रु ४६ करोड ९४ लाख ९८ हजार बराबरको क्षतिपूर्ति माग भएको प्राधिकरणले जनाएको छ।
त्यस्तै, एनएलजी इन्स्योरेन्समा १५१ दावीमा रु ३८ करोड ५८ लाख २२ हजार, प्रभु इन्स्योरेन्समा ६९ दावीमा रु १९ करोड १८ लाख, नेशनल इन्स्योरेन्स कम्पनीमा १९ दावीमा रु ६ करोड ८२ लाख ९० हजार ७५६, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ दावीमा रु एक करोड १३ लाख २२ हजार ८००, स्टार माइक्रो इन्स्योरेन्समा छ दावीमा रु ६७ लाख सात हजार ६५०, नेपाल माइक्रो इन्स्योरेन्समा १५ दावीमा रु ५६ लाख ३६ हजार र ट्रष्ट माइक्रो इन्स्योरेन्समा आठ दावीमा रु ४२ लाख बराबरको दावी परेको छ।
नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको दावी भुक्तानी शीघ्र निष्कर्षमा पु¥याउने प्रतिबद्धता जनाएको छ। सङ्घले बीमा गरिएका सवारीसाधन तथा संरचनाको यथार्थ विवरणसहित प्रक्रिया अघि बढाउन आग्रह गर्दै बीमा कम्पनीलाई दावी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न आह्वान गरेको छ।
सङ्घका अध्यक्ष राजेन्द्र मल्लले बीमितले आवश्यक कागजात चाँडै बुझाई दावी प्रक्रिया सहज बनाउनुपर्ने बताए। उनले विसं २०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको आवश्यकता अझ स्पष्ट भएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा बीमा कम्पनीहरूको सक्रियता सकारात्मक देखिएको धारणा राखे।
सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपतिको भवन, संसद् भवन, सुरक्षानिकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायातलगायतका संरचनामा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
Comments are closed.