कीर्तिपुर । ११औं राष्ट्रिय उद्योग दिवसको अवसरमा कीर्तिपुर उद्योग वाणिज्य संघको पहल र कीर्तिपुर नगरपालिकाको समन्वयमा स्थानीय उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा नगरभित्रका विविध क्षेत्रका उत्पादक, उद्यमी, व्यवसायी तथा सरोकारवालाहरू उत्पादनका नमूनासहित सहभागी भएका थिए । सहभागीहरूले स्थानीय उत्पादनलाई देशभर तथा अन्तर्राष्ट्रिय बजारसम्म कसरी प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरेका थिए ।
अन्तरक्रियामा कीर्तिपुरका मौलिक, विशिष्ट तथा परम्परागत उत्पादनहरूको पहिचान, ब्रान्डिङ, गुणस्तर अभिवृद्धि र बजार पहुँच विस्तार सम्बन्धी रणनीतिहरू मुख्य रूपमा प्रस्तुत गरियो । स्थानीय उद्यमहरूलाई प्रतिस्पर्धी बनाउँदै बजारसँग जोड्ने मार्गचित्रबारे सरोकारवालाहरूबीच सुझाव आदानप्रदान भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ कीर्तिपुरकी अध्यक्ष राज्यलक्ष्मी शाक्यले स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउन उत्पादनमूलक अभियान आवश्यक रहेको बताइन्। उनले भनिन्, “एक घर एक उत्पादन र एक वडा एक उत्पादनको अवधारणा कार्यान्वयन गर्न सकियो भने कीर्तिपुरको आर्थिक गतिविधि अझ चलायमान र स्वावलम्बी बन्छ।”
कीर्तिपुर उद्योग वाणिज्य संघले स्थानीय उत्पादनको पहिचान, संरक्षण र व्यावसायिक विकासका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।




Comments are closed.