माई खोला हाइड्रोले फागुन २५ गतेदेखि आइपीओ खुलाउदैँ

काठमाडौं ।  आयोजना प्रभावितका लागि माई खोला हाइड्रोपावरले फागुन २५ गतेदेखि आइपीओ खुलाउने भएको छ ।

हाइड्रोपावरले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता आइपीओ निस्कासन गर्न लागेको हो ।

यस्तै, सर्वसाधारणमा निष्कासन हुने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता सेयर विदेशमा बसेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो।

उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। यस आइपीओमा चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १० हजार कित्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त समयसम्म पूर्ण आवेदन नपरेमा आयोजन प्रभावित स्थानीय बासिन्दाहरूले भने चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

स्थानीय बासिन्दाले आयोजना रहेको स्थान, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

You might also like

Comments are closed.