झापा इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौं । झापा इनर्जी लिमिटेडले आज (साउन १४ गते) देखि आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी साधारण शेयर निष्कासन गरेको हो ।

कम्पनीले ३८ करोड १ लाख ९० हजार रुपैयाँको जारी पूँजीको १० प्रतिशत बराबर अर्थात् ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्दैछ ।

जसमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर शिवसताक्षी नगरपालिका वडा नं. ४ को आयोजनास्थल वरपर १०० मिटर भित्रका प्रत्यक्ष प्रभावित बासिन्दालाई छुट्याइएको छ भने बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो क्षेत्र बाहेक वडा नं. ४ का अन्य स्थानीयलाई प्रदान गरिनेछ ।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि ५७ हजार २९ कित्ता शेयर निष्कासन गरेको छ, जसको कुल मूल्य ५७ लाख २ हजार ९०० रुपैयाँ बराबर हुनेछ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।  स्थानीय बासिन्दाका लागि आवेदन खुला रहने अवधि छिटोमा साउन २८ गतेसम्म, ढिलोमा भदौ १२ गतेसम्म, वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छिटोमा साउन १८ गतेसम्म, ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कम्पनीलाई ICRA NP Issuer Rating B– प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले १० मेगावाटको सौर्य विद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ, जसको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ।

प्रतिमेगावाट लागत: ८ करोड ७९ लाख रुपैयाँ ।

विद्युत अनुमतिपत्र: अझै २२ वर्ष बाँकी ।

इक्विटीको लगानी फिर्ता अवधि: ९.५५ वर्ष ।

प्रोजेक्टको लगानी फिर्ता अवधि: ८.०६ वर्ष ।

डिस्काउण्ट लगानी फिर्ता अवधि: इक्विटीको १३.४६ वर्ष, प्रोजेक्टको १५.६६ वर्ष ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले हिमालयन बैंकका दुधे, दमक, र सुरुङ्गा शाखाबाट तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । दरखास्त फारमको शुल्क २ रुपैयाँ तोकिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण C-ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाबाट C-ASBA प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

 

झापा इनर्जीको यो आईपीओले आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई ऊर्जा क्षेत्रमा प्रत्यक्ष सहभागी हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.