एसवाई प्यानल नेपालले भदौ २९ देखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । एसवाई प्यानल नेपालले यही भदौ २९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको  छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि शेयर निष्कासन गर्ने तयारी गरेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १०० रुपैयाँमध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर जारी गर्न अनुमति दिएको छ ।

यसअनुसार, जारी पुँजीको २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता शेयर चितवनको रत्ननगर नगरपालिका (सवै वडा) का उद्योग प्रभावित बासिन्दाका लागि छुट्याइएको छ। त्यस्तै, कुल जारी हुने शेयरको १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ ।

दुवै समूहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित बासिन्दाले रत्ननगर–१४ स्थित कम्पनीको कार्यालय, प्रभु क्यापिटलको काठमाडौंस्थित कार्यालय, प्रभु बैंकका सौराहा र टाँडी शाखा तथा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट स्वीकृत सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयर प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

निष्कासन अवधिअनुसार, उद्योग प्रभावित बासिन्दाका लागि बिक्री बन्द छिटोमा असोज १२ गते र ढिलोमा असोज २७ गते हुनेछ। वैदेशिक रोजगारमा रहेका नेपालीका लागि भने निष्कासन बन्द छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गते बैंकिङ समय पश्चात हुनेछ ।

उक्त आईपीओ बिक्रीको व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

You might also like

Comments are closed.