८ नयाँ आईपीओ निष्कासनको लाइनमा, कसले कहिले खोल्दैछ सेयर?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएसँगै पछिल्लो समय प्राथमिक सेयर (आईपीओ) निष्कासनको क्रम तीव्र बनेको छ । बोर्डको स्वीकृतिपछि हालसम्म ८ वटा कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न बाँकी रहेको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार स्वीकृति प्राप्त गरेको दुई महिनाभित्रै आईपीओ निष्कासन गर्नुपर्ने व्यवस्था रहेकाले यी कम्पनीहरूले पालैपालो सर्वसाधारणलाई सेयर जारी गर्नेछन्।

बोर्डबाट स्वीकृति पाई निष्कासनको तयारीमा रहेका कम्पनीहरूमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, शिखर पावर डेभलपमेन्ट, सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावर रहेका छन् । नियमावलीअनुसार कम्पनीहरूले जारी पूँजीको न्यूनतम १० प्रतिशत र अधिकतम ४९ प्रतिशतसम्म सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था छ ।

यीमध्ये सर्वसाधारणका लागि सबैभन्दा पहिले आईपीओ खोल्न लागेको कम्पनी सोलु हाइड्रोपावर हो । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली, आयोजना प्रभावित स्थानीय तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरिसकेको छ भने अब पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुल्नेछ । माघ ४ गतेसम्म आवेदन दिन सकिने यस आईपीओमार्फत ८२ लाख कित्ता सेयर निष्कासन गरिनेछ। कम्पनीले सोलुखुम्बु जिल्लामा ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना निर्माण गरेको छ । असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५३ पैसा र प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४५ पैसा रहेको छ ।

सुपर खुदी हाइड्रोपावरले लमजुङ जिल्लामा निर्माण गरेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्ने तयारी गरेको छ । हाल आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ खुलिसकेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४५ पैसा रहेको छ भने ४६ करोड ५३ लाख रुपैयाँ सञ्चित नाफा रहेको जनाएको छ। केयर रेटिङ नेपालबाट कम्पनीले ‘बीबी’ रेटिङ पाएको छ ।

तानसेन ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले पहिलो चरणमा पाल्पा र नवलपरासी पश्चिमका स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई सेयर निष्कासन गरिरहेको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ । प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ७४ पैसा रहेको कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा आईपीओ जारी गर्नेछ ।

सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ निष्कासन गरिसकेको छ । अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासन गर्नेछ। नुवाकोटमा अवस्थित माथिल्लो तादी खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ७७ पैसा रहेको छ। केयर रेटिङबाट कम्पनीले ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ ।

भुजुङ हाइड्रोपावर कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ। लमजुङ जिल्लामा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत् आयोजना निर्माण गरेको कम्पनीले आईपीओ अंकित मूल्य १०० रुपैयाँमा जारी गर्नेछ । इक्रा नेपालबाट कम्पनीले ‘बी प्लस’ रेटिङ पाएको छ ।

यसैगरी, होटल फरेस्ट इनले पनि आईपीओ निष्कासनका लागि सेबोनको स्वीकृति पाइसकेको छ । शिवपुरी वन क्षेत्रमा अवस्थित यस होटलले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ। बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

शिखर पावर डेभलपमेन्ट कम्पनीले ४.९६ मेगावाट क्षमताको भीमखोला स्मल हाइड्रोपावर आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ। आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १३ पैसा रहेको कम्पनीले इक्रा नेपालबाट ‘बीबी’ रेटिङ प्राप्त गरेको छ ।

रिजलाइन इनर्जीले गोरखा जिल्लामा ९ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्ने तयारी गरेको छ । यी सबै आईपीओ निष्कासनले पुँजी बजारलाई थप चलायमान बनाउने र सर्वसाधारण लगानीकर्तालाई नयाँ लगानीका अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.