श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपछि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरेको हो ।

कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

यसअन्तर्गत पहिलो चरणमा कम्पनीले १ लाख ६३ हजार १२५ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ३ लाख ९ हजार ९३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १ लाख २३ हजार ९७५ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याएर बाँडफाँट गरिएको छ ।

अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरका २५ लाख १० हजार ४९३ कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई “इक्रा एनपी इश्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

You might also like

Comments are closed.