स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको आग्रह

काठमाडौं । हाल केही जलविद्युत आयोजनाको साधारण सेयर(IPO) निष्काशन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि कतिपय प्रवद्र्धक कम्पनीले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस सम्बन्धमा इप्पानको जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयबासीलाई उपलब्ध गराइने सेयर अंकित मूल्य अर्थात् प्रति कित्ता रु. १०० मै उपलब्ध गराइनुपर्छ भन्ने धारणा राखेको छ। धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ९ को उपनियम ४ मा स्थानीय लाभान्वित हुन भन्ने उद्देश्यले १०%  शेयर दिने गरी कानुनी प्रबन्ध गरिएकोले सो अनुसारनै गर्न पनि सम्पूर्ण सदस्यलाई इप्पानले अनुरोध गरेको छ ।

जलविद्युत आयोजना केवल लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान पनि हो । आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने, निर्माण अवधिका असुविधा व्यहोर्ने र आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई आयोजना स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयबासीका लागि सेयरको व्यवस्था गरिएको हो । यदि त्यही सेयर प्रिमियम मूल्यमा निष्काशन गरियो भने स्थानीय समुदायको पहुँच सीमित हुने, उनीहरूमा अपनत्वको भावना कमजोर हुने तथा आयोजना र समुदायबीच वर्षौंदेखि निर्माण हुँदै आएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने इप्पानले जनाएको छ ।

स्थानीयबासीलाई अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, आयोजनाप्रति स्वामित्व र अपनत्वको भावना अभिवृद्धि हुने, आयोजना निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद र अवरोधहरू न्यून हुने, स्थानीय स्तरमा सहयोग र सहकार्य अझ सुदृढ हुने तथा जलविद्युत आयोजना समयमै सम्पन्न गर्न सहज वातावरण निर्माण हुने विश्वास इप्पानले लिएको छ । यसले स्थानीय समुदायले आयोजनाबाट दीर्घकालीन लाभ प्राप्त गर्ने अवसरसमेत सुनिश्चित गर्दछ, जसबाट आर्थिक सशक्तीकरण, स्थानीय विकास तथा सामाजिक सद्भावलाई समेत टेवा पुग्ने इप्पानको भनाइ छ ।

इप्पान नेपाल सरकार, सम्बन्धित नियामक निकाय तथा सबै प्रवद्र्धक कम्पनीहरूलाई स्थानीय प्रभावित बासिन्दाको हित, जलविद्युत आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबीचको सुमधुर सम्बन्धलाई सर्वोपरि राख्दै स्थानीयबासीका लागि छुट्याइने सेयर अंकित मूल्य अर्थात् प्रति कित्ता रु। १०० मै उपलब्ध गराउने नीतिलाई निरन्तर कायम राख्न इप्पान सम्पूर्ण सदस्यहरुलाई आग्रह गर्दछ ।

साधारण सेयर निष्काशनसँग सम्बन्धित नियामकीय प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाई जलविद्युत क्षेत्रको लगानी वातावरणलाई थप सुदृढ बनाउन सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराउँछ ।

सेयर निकाष्शनमा भएको ढिलाईको कारण जलविद्युत आयोजनाले भोगिरहेका समस्या समाधानका लागि समेत समयमै सेयर निष्काशन गर्ने परिपाटीको विकासका लागि नेपाल सरकार र यससँग सम्बन्धित निकायहरुलाई पनि इप्पानले आग्रह गरेको छ ।

You might also like

Comments are closed.