ईश्वरबहादुर गुरुङ
कोषाध्यक्ष, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन
आधुनिक अन्तर्राष्ट्रिय व्यापारको जग नै लजिस्टिक र सप्लाई चेन व्यवस्थापनमा अडिएको छ । दुरुस्त र प्रभावकारी कार्गो सेवाविना वैदेशिक व्यापारको परिकल्पना सम्म गर्न सकिँदैन । वस्तु तथा सामग्रीको आयात–निर्यात प्रक्रियामा आपूर्ति शृङखला (सप्लाई चेन) लाई निर्बाध रूपमा सञ्चालन गर्न नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) मा आबद्ध फ्रेट फरवार्डरहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ ।
आजको युगमा फ्रेट फरवार्डिङलाई केवल साधारण व्यवसायका रूपमा मात्र हेर्नु अपूरो हुन्छ । समयको मागसँगै हामी यसलाई एउटा व्यवस्थित ‘लजिस्टिक उद्योग’का रूपमा स्थापित गराउने अभियानमा छौँ । हाम्रो स्पष्ट मान्यता छ, देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउने लजिस्टिक क्षेत्रलाई राज्यले ‘सेवामूलक उद्योग’का रूपमा औपचारिक पहिचान र परिभाषा दिनुपर्छ । यसले लजिस्टिक क्षेत्रको व्यवसायीकरण र पूर्वाधार विकासमा नयाँ आयाम थप्नेछ ।
अन्तर्राष्ट्रिय व्यापारमा समय, लागत र सुरक्षाको ठूलो महत्व हुन्छ । एक कुशल फ्रेट फरवार्डरले आयात–निर्यातका क्रममा महत्वपूर्ण जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्नुपर्ने हुन्छ । सही रणनीति र सञ्जालको प्रयोग गरी ढुवानी खर्चलाई न्यूनतम बिन्दुमा ल्याउने, सामानको प्रकृति अनुसार सही, सुरक्षित र द्रुत माध्यम (स्थल, जल वा हवाई) को प्रयोग गर्ने, सही ठाउँमा, सही समयमा र सुरक्षित रूपमा सामान पु¥याउने वा ल्याउने पूर्ण व्यवस्थापन गर्ने काम हामी व्यवसायीले गर्दै आइरहेका छौं ।
लजिस्टिक लागत कम हुन सक्यो भने मात्र हाम्रा उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सक्छन् र आयात गरिएका सामानहरू पनि उपभोक्तासम्म सस्तो मूल्यमा पुग्न सक्छन् । यसका लागि राज्यले आयात–निर्यात प्रक्रियामा नीतिगत सहजीकरण गरिदिनु आवश्यक छ ।
राज्यको सकारात्मक सहजीकरण र फ्रेट फरवार्डरहरूको व्यावसायिक दक्षता मिलेको खण्डमा नेपालको वैदेशिक व्यापार अझ सहज, पारदर्शी र सबल बन्ने निश्चित छ ।



Comments are closed.