विश्वका शक्तिशाली सात राष्ट्रहरूको समूह जी–७ सम्मेलन यसपटक दीर्घकालीन रणनीति र आर्थिक रुपान्तरणका एजेन्डाभन्दा इजराइल–इरान तनावको प्रभावमा परिसकेको छ। क्यानडाको अल्बर्टा प्रान्तस्थित कनानास्किसमा जारी सम्मेलनको मूल उद्देश्य रणनीतिक सहकार्य, जलवायु बहस र कृत्रिम बुद्धिमत्ता जस्ता विषय रहे पनि युद्धको जोखिमले पूरा ध्यान संकट व्यवस्थापनमा खिचिएको छ।
सम्मेलनमा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका प्रमुख नेताहरू सहभागी छन्। यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, युरोपियन युनियनका प्रतिनिधि तथा ब्राजिल, अष्ट्रेलिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, मेक्सिको र युक्रेनका नेताहरू अतिथि राष्ट्रको रूपमा उपस्थित छन्।
तनावले एजेन्डा प्रभावित
सम्मेलनको औपचारिक एजेन्डामा विश्व व्यापार, जलवायु परिवर्तन, ऊर्जा रुपान्तरण, कृत्रिम बुद्धिमत्ता र विकास साझेदारी जस्ता विषयहरू समेटिएका थिए। तर, पछिल्ला दिनमा इजराइल र इरानबीचको तनावले मुख्य बहसलाई नै नयाँ मोड दिएको छ।
जी–७ भित्र स्पष्ट कूटनीतिक विभाजन
इरानमाथिको आक्रमणपछि अमेरिका इजरायलको पक्षमा उभिएको देखिएको छ भने जर्मनी, फ्रान्स र बेलायतले संयमित रहन र कूटनीतिक समाधान खोज्न आग्रह गरेका छन्। अमेरिकाले आक्रमणमा संलग्न नभएको दाबी गरे तापनि उसको परोक्ष समर्थनको आशंका गहिरिंदै गएको छ।
विश्लेषकहरू भन्छन्, “यो मतभेदले जी–७ को एकता र विश्व नेतृत्व क्षमतामा गम्भीर प्रश्न खडा गरेको छ।”
अतिथि राष्ट्रहरूको भूमिकामा कटौती
भारत, ब्राजिल, अष्ट्रेलिया, दक्षिण कोरिया, र दक्षिण अफ्रिका जस्ता अतिथि राष्ट्रहरूले आर्थिक सहकार्य र जलवायु संकट जस्ता विषयमा विशेष ध्यान दिने अपेक्षा गरेका थिए। तर, वर्तमान संकटका कारण उनीहरूको सहभागिता औपचारिकता मात्रमा सीमित भएको टिप्पणी गरिएको छ।
तेल मूल्य अस्थिरता र आर्थिक चिन्ता
मध्यपूर्वको तनावले तेल आपूर्ति शृंखलामा अवरोध ल्याइरहेको छ। मूल्यवृद्धि, मुद्रा अस्थिरता र व्यापार जोखिमले जी–७ राष्ट्रहरूमा आर्थिक अस्थिरता थपिएको छ। यस्तोमा सम्मेलनले दीर्घकालीन योजना बनाउने सट्टा तात्कालिक संकट समाधानमा केन्द्रित रहनु परेको छ।
अमेरिकी नेतृत्वमाथि आशंका
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको इजरायलपक्षीय भूमिकाले युरोपेली देशहरूमा असन्तोष बढाएको छ। ट्रम्पले आक्रमणको स्पष्ट आलोचना नगर्दा अमेरिकामाथिको भरोसा कमजोर भएको टिप्पणी गरिएको छ।
यसबाहेक, ट्रम्पको सम्मेलनको महत्त्वपूर्ण चरणमा वाशिङ्टन फर्किन लाग्नुले अमेरिकाको विश्व नेतृत्व भूमिकामाथि प्रश्न उठाएको छ।
संकट व्यवस्थापनमै सीमित भयो सम्मेलन
विश्लेषकहरू भन्छन्, जी–७ सम्मेलन यसपटक विश्व आर्थिक नीति निर्माण र रणनीतिक मार्गचित्र तय गर्ने मूल उद्देश्यभन्दा टाढा पुगेको छ। सम्मेलन आकस्मिक संकट बैठकमा सीमित भएको देखिएको छ।
यदि यस्तै संकटहरूले आगामी वर्षहरूमा पनि एजेन्डालाई विस्थापित गर्दै लगे भने, जी–७ को दीर्घकालीन प्रभावकारिता र विश्व नेतृत्व क्षमतामाथि पुनर्विचार गर्नुपर्ने अवस्था आउने विज्ञहरूको चेतावनी छ।
Comments are closed.