नेपाली आईटी कम्पनीहरूले विदेशमा डलर लगानी गर्न पाउने

काठमाडौं । अब नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशी मुद्रामा विदेशमा लगानी गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली, २०७८’ मा चौथो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

संशोधित नियमावली अनुसार, आईटी कम्पनीहरूले सेवा निर्यातबाट आर्जन गरेको विदेशी मुद्राको आधासम्म वा अधिकतम १० लाख अमेरिकी डलरसम्म (दुईमध्ये जुन कम हुन्छ) विदेशमा लगानी गर्न पाउनेछन्। यद्यपि लगानी गर्नुअघि कम्पनीले निर्यात आम्दानी, चुक्ता पूँजी, लेखापरीक्षण विवरण लगायतका प्रमाण पेश गरी राष्ट्र बैंकबाट सटही स्वीकृति लिनुपर्नेछ।

राष्ट्र बैंकका अनुसार यस्तो लगानी सूचना प्रविधिसम्बन्धी क्षेत्रमा मात्र गर्न सकिनेछ र कम्पनी औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनअनुसार दर्ता भएको हुनुपर्नेछ। त्यस्तै लगानी चुक्ता पूँजीको सीमाभित्र रहनुपर्ने व्यवस्था गरिएको छ।

यसअघि सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा पनि नेपाली नागरिक वा कम्पनीलाई विदेशमा लगानी गर्न दिने घोषणा गरिएको थियो। बजेट अनुसार नेपालबाट अर्धप्रशोधित वस्तु निर्यात गरी प्रशोधन उद्योग स्थापना गर्न वा विक्री शाखा खोल्न अनुमति दिने व्यवस्था गरिएको छ। साथै, निर्यात आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने र सो व्यवसायबाट आर्जन भएको मुनाफाको ५० प्रतिशत नेपाल फर्काउनुपर्ने प्रावधान बजेटमा उल्लेख गरिएको छ।

राष्ट्र बैंकको यो निर्णयले नेपाली आईटी उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार, रणनीतिक साझेदारी निर्माण र प्रविधिमा प्रतिस्पर्धा गर्न नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.