पोखरा । पोखरा जगदम्बा ट्राभल्सले कोभिडका कारण लागु गरिएको निशेधाज्ञासँगै स्थगित गरेको बस सेवालाई भदौ ३ गतेबाट पुनः सुचारु गर्ने भएको छ । भदौ ३ गतेबाट रात्रि सेवा सञ्चालन गरिने सञ्चालक केशवप्रसाद अधिकारीले जानकारी दिए ।
सोफाको सिटमा सुतेर यात्रा गर्नमिल्ने गरी सुविधा सम्पन्न बसबाट सेवा सञ्चालन हुने अधिकारीले बताए । ‘स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरी सेवा सञ्चालन गरिनेछ,’ अधिकारीले भने । बसलाई सेनिटाइज गरेर सेवा सञ्चालन गरिने उनले बताए । ‘यात्रुलाई माक्स, सेनिटाइजरको व्यवस्था गरिनेछ,’ उनले भने, ‘सोफाको सिंगल सिटमा यात्रु राखेर गन्तव्यसम्म पुर्याउनेछौं ।’
गाडीको भाडादर पुरानै कायम गरिएको अधिकारीले बताए । यात्रुले १ हजार २ सय रुपैयाँ भाडा तिर्नुपर्नेछ । चिया, कुकिज, वाइफाइ, कोल्ड ड्रिङस, पानी, व्लाङकेटको सुविधा यात्रुले निःशुल्क प्राप्त गर्नेछन् ।
पोखरामा जिरो किलोमिटर, लेकसाइड, पृथ्वीचोक, अमरसिंहचोक हुँदै यात्रुलाई पिकअप गरिने तथा काठमाडौंमा जोरपाटीबाट रिङरोड हुँदै यात्रुलाई पिकअप गरिने अधिकारीले जानकारी दिए । भदौ ३ गते पोखराबाट बस छुट्नेछ भने भदौ ४ गतेबाट पोखरा तथा काठमाडौं दुवै ठाउँबाट बस छुट्ने अधिकारीले जानकारी दिए । बस साँझ ८ बजे छुट्नेछ ।
Comments are closed.