व्यावसायिक यात्रामा अब्बल धामी

सुरेन्द्र पौडेल । स्वर्गीय पिता चक्रबहादुर धामी र माता निर्मला देवी धामीको कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्म लिएका युवा सफल उद्योग व्यवसायी तथा राजनीतिज्ञ जनकबहादुर धामीको बाल्यकाल बर्दियाको राजापुर नगरपालिकामा बितेको थियो । व्यावसायिक घरानामा धामीको जन्म नभएता पनि उनका पिताले २०३० को दशकमा नै बर्दियाको राजापुर नगरपालिकामा व्यावसाय स्थापना गरिसकेका थिए । व्यवसाय स्थापना कालदेखि उनका पिताले लुगा कपडा पसलको व्यवसाय गर्दै आएका थिए र सो व्यावसायलाई थप परिस्कृत गरी सञ्चालन गरेको भए मात्रै पनि उनको जीवनस्तर सुखसँगै बित्ने थियो जसले उनलाई आफ्नै थातथलो र आधारभूमिबाट स्थापित व्यवसायी बन्ने मार्ग प्रशस्त हुने थियो ।

तर भनिन्छ नि, आँट र आकांक्षा हुनेहरु सीमित आकाशमा रमाउन सक्दैनन् र उनीहरुलाई धेरै पर अवसर तथा सम्भावनाको फराकिलो क्षितीज छ भन्ने पूर्वानुमान हुने गर्छ । सायद त्यस्तै आभास भएको हुनुपर्छ र त राजापुरको रजगज अनि रनवन मात्र हैन हुँदाखादाको पुख्र्यौली व्यवसायमा मात्रै सीमित भएर बस्न मन लागेन उनलाई । यसर्थ, अवसरको क्षितीज खोज्दै उनले देशको राजधानी काठमाडौंमा वि.स. २०५१ मा प्रवेश गरे, जहाँ जीवन जिउन गाह्रो मात्र हैन हम्मेहम्मे पर्ने गर्छ नव प्रवेशीहरुलाई । तर, पनि इमान्दारिता, निरन्तरता र मेहनतले मानिसलाई सफल र सम्मानित बनाउँछ भन्ने शिक्षा निरन्तर रुपमा आफ्ना पिताबाट पाइरहेका धामीले राजधानीको उनको यात्रा जागिरबाट अघि बढाउने निर्णय गरे ।

काठमाडौंको महाराजगञ्जमा दिदीको डेरामा बस्ने धामीले आफूलाई सुहाउँदो जागिर खोज्दै गर्दा काठमाडौं आएको केही समयमा नै नेपालकै ठूलो व्यावसायिक घराना गोल्छा समूहमा आबद्ध हुने मौका पाए । जहाँ उनको कार्यक्षेत्र मार्केटिङको थियो र नेपालकै प्रतिष्ठित घरानाबाट जागिरे जीवन सुरु गर्न पाउँदा उनी खुसी थिए ।

धामीले आफ्नो जागीरे जीवनको लामो समय अर्थात ५ वर्ष ६ महिना गोल्छा समूहमा खर्चिएर व्यावसायिक अनुभव संगाल्न सफल भए । आफ्नो इमान्दारिता र मेहनतले जो कसैको पनि मन सजिलै जित्न सफल धामीले छोटो समयमै गोल्छा समूहमा एरिया सेल्स म्यानेजरको जिम्मेवारी कूशलतापूर्व निर्वाह गर्ने मौका समेत पाए । तत्पश्चात उनले आफूलाई मार्केटिङ क्षेत्रको काम र कार्यशैलीमा निपूर्ण बनाउँदै लैजान सफल भए । मीठो बोली, आकर्षक प्रस्तुति शैली, इमान्दारिता, प्रखर वाक कला तथा मेहनतले उनी धेरैको प्रिय पात्र बनिसकेका थिए । उनको यही व्यक्तित्वले नै आफ्नो पेशा र कामप्रति विस्तारै लोकप्रियता बढेसँगै उनलाई थप अघि बढ्ने बाटो तयार बन्योे ।

बोहरा र चाचन ग्रुपमा आवद्ध

गोल्छा समूहमा खर्चिएको लामो समय र त्यसबाट बटुलेकोे व्यावसायिक अनुभवका साथै विभिन्न उतार चढाव पार गर्दै धामीले जागिरको दोस्रो इनिङ नेपालको अर्को चर्चित व्यावसायिक घराना बोहोरा ग्रुपबाट सुरु गरे । नेपालका चर्चित तथा सफल व्यावसायिक घरानाहरुमा धामीको इमान्दारिता र मेहनतको पटक–पटक चर्चा परिचर्चा चलिरहने गर्दथ्यो । जसले गर्दा उनलाई बोहोरा ग्रुपमा सेल्स एण्ड मार्केटिङ म्यानेजर भएर काम गर्ने मौका मिल्यो जहाँ उनले देशभरको बजार हेर्नेे जिम्मेवारी सफलतापूर्वक बहन गरेका थिए । उनको कार्यक्षेत्र देशभर भएपनि उनले चाहे र सोचेजस्तै सफलता पाइरहेका थिए जसको मूल कारण उनका पिताले नविर्सने गरी सिकाएकोे ईमान्दारिता र मेहेनतको पाठ थियो । जुन कुरा अहिले उनलाई आफ्ना बाल बच्चाहरुले पनि अनुशरण गरिरहेको अनुभूति हुन्छ ।

जागीर सगंसंगै काठमाडौंको मैतीदेवीमा उनको खाद्यान्न व्यवसायले पनि राम्रो प्रगति गरिहेको थियो, जुन व्यवसाय धामी काठमाडौं आएको एक वर्षको समय नबित्दै सुरु भएको थियो । जसको नेतृत्व धामीका भाइ हेमन्तले गरेका थिए ।

नेपालका ठूला तथा चर्चित व्यापारी घरानाहरुमा विश्वासिलो, मेहेनती तथा इमान्दारिताको छवि बनाउन सफल धामीलाई २०६१ सालमा नेपालको अर्को चर्चित व्यावसायिक समूह चाचन ग्रुपले सेल्स एण्ड मार्केटिङमा कन्ट्रि म्यानेजरको रुपमा जिम्मेवारी दिने निर्णय गरेसंगै धामीले पनि सहर्ष स्वीकार गरे । यही ग्रुपमा उनी अहिले पनि सेल्स एण्ड मार्केटिङको उच्च तहमा रहेर आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् ।

अर्को मोडः हरपल चामलको आधिकारिक विक्रेता

जसरी उनले आफ्नो पख्र्यौली व्यवसायमा आफूलाई बिलाउन दिएनन् त्यसैगरी उनले आफूलाई जागीरको घेरामा सीमित राख्न चाहेनन् । धामीले जागिर संगसँगै आफ्नो उद्यम र व्यवसायलाई पनि अघि बढाउँदै लगे जसको फलस्वरुप २०६२ सालमा भारतको चर्चित चामल हरपल तथा ग्यालेक्सीको लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता बनेर आयातको कामको थालनी गरे । यस पश्चात धामी माथि अरु जिम्मेवारी र दायित्वहरु थपिदै गए र अझ भन्नुपर्दा यो उनको लागि ठूलो चुनौती पनि थियो । आफ्नो ब्राण्डलाई पनि नेपाली बजारमा लोकप्रिय बनाउनुपर्ने उनको ठूलो दायित्व थियो र जागीरको दौरानमा धामीले नेपालका ठूला व्यावसायिक समूहमा आवद्ध भई हासिल गरेको सफलता अब आएर उनको लागि ठूलो चुनौती पनि बनेको थियो । मेहनत कहिले पनि खेर जांदैन भने जस्तै हरपल ब्राण्डलाई उनले नेपाली बजारमा लोकप्रिय बनाइ छाडे र देशभरमा यसकोे माग बढदै गयो र उपभोक्ता पहिलो रोजाईमा पर्न सफल भयो । अहिले धामी हरपलको बिक्रेता हरपल फुड्स प्रा.लि.को अध्यक्ष हुन् र हरपल फुड्स प्रा.लिले हरपल रिच राइस २० केजी र ५ केजी बजारमा उपलब्ध गराइरहेको छ । मधुमेहका बिरामीलाई लक्षित गरेर हरपल उसिना चामल २० केजी र ५ केजीको प्याकमा पनि उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै ग्यालेक्सी जम्बो ११२१ बासमती चामल १, ५ र २० केजीको प्याकमा उपलब्ध छ । ग्यालेक्सी प्रिमियम बासमती २० केजीको प्याकमा उपलब्ध छ । अल्नाज बासमती ५ केजी र १ केजीमा नेपाली बजारमा अहिले पनि उत्तिकै ग्राहकको रोजाइ र छनोटमा परेको छ । हरपल पसन्द चामल स्टिम र बोइल गरेर २० केजी र ५ केजीमा उपलब्ध छ ।

हरपलले आफ्नो उत्पादनमा नयाँ प्रडक्टहरु थप्दै जाने क्रममा दीपम सोनम जिरा मसिनो चामल २५ केजी, जे एम पी सोनम जिरा मसीनो चामल र लामा गोल्ड जिरा मसिनो चामल २५ केजी बजारमा उपलब्ध गराइरहेको छ । प्रा.लि.ले गत वर्षबाट शुभमालिका ब्राण्डको चामल बिक्री वितरणको सुरुवात गरिसकेको छ, यो चामल २५ केजीको प्याकमा नेपाली बजारमा उपलब्ध छ र मधुमेहका बिरामीलाई लक्षित गरेर ग्यालेक्सी ब्राउन राइस १ केजीको प्याकमा पनि नेपाली बजारमा उपलब्ध छ । स्पेसल बिर्यानीका लागि ग्यालेक्सी गोल्डेन सेला बासमती पनि बजारमा उपलब्ध छ ।

तीन दशक लामो खाद्यान्न व्यवसायको यात्रा र अनुभवले धामीलाई हरपल फुड्स प्रा.लि.मा अझै मजबुत र स्थापित गरायो । ‘नेपालमा धेरै वर्गका उपभोक्ताहरु हुनुहुन्छ,’ धामी भन्छन्, ‘ती सबै बर्गका उपभोक्तालाई समेट्ने गरी हामीले यति धेरै रेन्जमा चामल बिक्री वितरण गरिरहेका छौं ।’

‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ : नेचर सुपर मार्केटको थालनी

धामी एकै ठाउँ र काममा मात्रै बस्न रुचाउदैनन््, नयाँ काम र अवसरको खोजी उनको जीवनको अर्को ध्येय हो । उनी अनुभवका आधारमा नयाँ अवसर र आयामको खोजी गरिरहने व्यक्ति हुन । शायद उनलाई आप्mनो पूख्र्यौली विरासतले यस्तै बाटो रोज्न सिकाएको थियो कि ? धामीको व्यावसायिक यात्रा हरपल फुड्समा मात्रै रोकिएन र उनको नेतृत्वमा नेचर सुपर मार्केट प्रालि पनि सञ्चालनमा आएको छ, जसमा उनले अध्यक्षको भूमिका निर्वाह गरिरहेका छन् । काठमाडौंको मैतीदेवी चोकमा २०७७ साल कात्तिकबाट सुरु भएको सुपरमार्केटको पहिलो शाखा ललितपूको नरेफाँट, त्यसपछि भक्तपूरको बालकोट र काठमाडौंको मध्य बानेश्वरमा पनि शाखा सञ्चालनमा आइसकेका छन् ।

‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपर मार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु सहुलियत दरमा ग्राहक माझ उपलब्ध गराउन सफल भएको धामी बताउँछन् । काठमाडौं उपत्यकाभर प्रा.लि.ले विना शुल्क होम डेलिभरी सेवा उपलब्ध गराइरहेको छ । उपत्यकामा रहेका होटल, रेस्टुरेन्ट, होस्टेल, क्याटरिङ, क्यान्टिन, खुद्रा पसल लगायतका क्षेत्रहरुमा सुपथ मूल्यमा सामान उपलब्ध गराउन आफूहरु सफल रहेको धामीले बताए ।

बजार व्यवस्थापन तथा गुणस्तरीय उत्पादन, बिक्री वितरणको लामो अनुभव र अभ्यासको परिणामस्वरुप सशक्त सुपर मार्केटको सुरुवात गर्नुपर्ने थियो । ‘त्यसैको प्रतिफल हो नेचर सुपर मार्केट प्रा.लि.को स्थापना,’ धामीले भने । प्रतिस्पर्धात्मक विश्व बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै नेचर सुपर मार्केटको स्थापना भएको उनको भनाइ छ ।

सेल्स र ब्राण्डिङसँगै देशभर शाखा विस्तारको लक्ष्य धामीको योजना अबको केही वर्षमा नेचर सुपर मार्केटलाई थप स्थापित र विस्तार गर्ने हो । ‘सेल्स बढाउँदै नेचरलाई ब्राण्डिङ गर्दै हामी अगाडि बढ्छौं,’ उनले भने । नेचर सुपर मार्केटलाई देशभर चिनाउने र देशभर शाखा खोल्ने योजना रहेको उनले सुनाए । ‘केही वर्ष हामी काठमाडौंमै केन्द्रित हुन्छौं,’ उनले भने, ‘त्यसपछि देशभरका मुख्य बजारमा पुग्ने योजना छ ।’ नेचर सुपरमार्केटलाई ब्राण्ड रजिष्टर गरी साना–साना उद्योगमा जाने योजना रहेको धामीले बताए । ‘उत्पादनमुलक क्षेत्रमा हामीले लगानी विस्तार गर्नेछौं,’ उनले भने । लोकल तथा अर्गानिक उत्पादनलाई प्राथमिकतामा राखेर प्याकेजिङमा जाने योजना रहेको उनले सुनाए । अहिले धामीले नेतृत्व गरेका व्यवसायहरुमा देशभर झण्डै हजार जनाले रोजगारी पाइरहेका छन् । आगामी दिनमा लगानी बिस्तार गर्दै रोजगारीका अवसर पनि बढाउँदै जाने धामीको योजना छ । नेचर सुपर मार्केटलाई स्थापित गरिसकेपछि पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा लगानी बढाउने सोच रहेको धामीले बताए ।

सुनमा सुगन्धः सहकारीको सफल यात्रा

धामीको नेतृत्वमा वि.स. २०६४ साल अर्थात १५ वर्ष अगाडि मालिका बचत तथा ऋण सहकारी संस्थाको स्थापना भयो । धामी अध्यक्ष रहेको मालिका सहकारी संस्थाको प्रधान कार्यालय काठमाडौंको कुलेश्वरमा छ र यसका सेवा केन्द्रहरु काठमाडौंको सुन्धारा र मैतीदेवीमा छन् । धामीको सफल नेतृत्वमा नेपालका उत्कृष्ट सहकारी मध्येमा मालिका पर्न सफल छ । जसको फलस्वरुप हालसालै देशभरीका सहकारी क्षेत्रमा आएको समस्यालाई सहजै समाधान गरी सहकारी क्षेत्रमा अटल विश्वास हांसिल गर्न सफल भएको उनी बताउँछन् ।

सहकारी क्षेत्रमा आएको त्रसित अवस्थामा समेत आफ्ना शेयर सदस्यलाई आवश्यक परेको रकम सहजै निकासा गरी आवश्यकता अनुसार घर घरसम्म समेत पु¥याउने व्यवस्था समेत गरेकाले जुन त्रास बजारमा देखिएको थियो त्यो त्रास आफ्ना शेयर सदस्यहरुलाई अनुभूति समेत हुन नदिएको उनको भनाई छ । सहकारी क्षेत्रमा आएको यो परिस्थिति सम्पूर्ण नेपालीको लागि ठूलो लेसन (शिक्षा) भएको र यसले गर्दा गलत नियतले सञ्चालन भइरहेका सहकारी यदी छन्भने खबरदारी समेत गरेको उनको बुझाई छ । यसर्थ उनले यस परिस्थितिलाई अवसरको रुपमा लिएका छन् ।

व्यवसायले जुराएको समाजसेवा – मनकारी व्यक्तित्वको छवि

जीवनभर कडा संघर्षको स्वादसँग भलिभाती धामी जागिर तथा व्यवसायमा मात्रै सीमित नभई समाज सेवामा पनि उत्तिकै व्यस्त छन् । त्यही भएर पनि धेरैले उनलाई मनकारी व्यक्तित्व भनेर पनि चिन्ने गरेका छन् । अरुको दुःखलाई उनले आफ्नै दुःख सम्झन्छन् । संसारभर प्रभाव पारेको कोरोनाको प्रकोपले नेपालमा पनि त्रसित भएका मानिसहरु घरभित्रै बस्न बाध्य भए र धेरैको रोजिरोटी गुम्यो । तर, धामी घरमा बसिरहन चाहेनन् र सकेनन् पनि । कोरोनाको महामारीको त्रासलाई एकातिर थाती राखी रातदिन नभनी राजधानीमा रहेका विद्यार्थी तथा ज्याला मजदुरी गर्नेहरुको छाक टार्नका लागि राहत वितरणमा सक्रिय भए । लकडाउनको समयमा उनले करिब १ हजार २ सय परिवारलाई राहत वितरण गरे ।

आफ्नो पुख्र्यौली थलो अछामको बिनायक पञ्चदेवल नगरपालिकामा उनले स्वर्गीय पिताको स्मृतिमा श्री कालासिल्ला मष्टा देवताको मन्दिर बनाएका छन् । बर्दिया र अछाममा उनले सामाजिक क्षेत्रमा थुप्रै योगदान पुर्याएका छन् । सहकारी र आफ्नो व्यावसायिक संस्थामार्फत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा उनले धेरैलाई सहयोग गर्दै आइरहेका छन् ।

अर्को प्रयास राजनीति

राजनीतिमा पनि धामीको रुची छ । उनी अहिले पनि नेपाली काँग्रेसको केन्द्रीय उद्योग तथा व्यापार विभागको केन्द्रीय सदस्य भएर काम गरिरहेका छन् । उनी लुम्बिनी प्रदेश, बर्दियाको क्षेत्र नं. २ बाट अत्याधिक बहुमत ल्याई निर्वाचित भएका महाधिवेसन प्रतिनिधी पनि हुन । यस अघि पनि उनले विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । समयको मागअनुसार व्यवसायसँगसँगै राजनीतिमा सक्रिय हुँदै अगाडि बढ्ने योजना रहेको धामी बताउँछन् ।

जन्मभूमि अछामको माँडुः, कर्मभूमि बर्दिया र काठमाडौं

धामीको पुख्र्यौली थलो अछाम हो । अछामको विनायक पञ्चदेवल नगरपालिका स्थित माँडुमा उनको जन्म भएको हो । यद्यपि, उनको परिवारको बसाईंसराईं बर्दियामा भयो र उनको बाल्यकाल बर्दियामा नै बित्यो । प्रारम्भिक शिक्षा बर्दियाबाटै अगाडि बढाएका उनले एसएलसी अछामबाट सके । स्वर्गीय बुबा चक्रबहादुर धामीको उचित रेखदेख र असल अनुशासनमा हुर्केका धामीले उच्च शिक्षा अध्ययनका लागि राजधानी काठमाडौं प्रवेश गरेका हुन् ।

राजधानीमा उच्च शिक्षा अध्ययनसँगै काम र व्यवसायलाई उनले सँगसँगै अगाडि बढाए । कर्मभूमिमा कर्म गरिरहँदा उनले आफ्नो जन्मभूमिप्रतिको दायित्व भने भुलेका छैनन् ।

पिताको प्रेरणा र पदचाप जीवनका अनेकौ उकाली र ओरालीमा उनले धेरै हण्डर हुण्डरी मात्र होइन काम र व्यवसायले धेरै ज्ञान, शिक्षा र अनुभव हासिल गरेका छन् । जीवन र जगतलाई बुझ्दै आफूलाई एउटा अथक कर्मशील र संघर्षरत व्यक्तिको समाजमा आफू केही न केही हो भन्ने परिचय बनाइसकेका छन् । देशभर एक स्थापित व्यवसायीको पहिचान बनाइसकेका छन् । अनुशासन, निरन्तरता, इमान्दारिता र मेहनतलाई उनले आफ्नो सफलताको शुत्र मान्छन् । ‘अनुशासन र इमान्दारिताको कसीमा आफूलाई खरो रुपमा उतार्न सकियो र त्यसमा कुनै कसर नराखी आफ्नो काममा मेहनत गर्न सकियो भने जीवनमा सफलता हासिल गर्न सकिन्छ भनेर मलाई बुबाले सिकाउनुभयो’, धामी भन्छन्, ‘यही मन्त्रलाई मन र कर्मले अपनाउँदै अगाडि बढिरहेको छु, अनवरत हिडिरहेको छु ।’ धामीलाई व्यवसाय र समाजसेवाामा अगाडि बढ्न परिवारको पूर्ण साथ छ ।

You might also like

Comments are closed.