इमान्दारिता, निरन्तरता र मेहनतबाट व्यवसायमा अब्बल धामी

बर्दियाको राजापुर नगरपालिकामा जनकबहादुर धामीको पसल थियो । बुबा स्वर्गीय चक्रबहादुर धामीले २०३० को दशकमै सुरु गरेको कपडा पसल उनको पुख्र्यौली व्यवसाय हो । बाबुले सुरु गरेको पसललाई थप परिस्कृत गरेर सञ्चालन गरेको भए मात्रै पनि उनको जीवनस्तर सुखसँगै बित्ने थियो । स्थानीय स्थापित व्यवसायी बन्ने थिए । तर, उनलाई पुख्र्यौली व्यवसायमा मात्रै सीमित भएर बस्न मन मानेन । थप अवसरको खोजीमा उनी २०५१ मा राजधानी काठमाडौंमा छिरे ।

इमान्दारिताका साथ व्यवसाय गर्नुपर्छ भनेर बुबाबाट प्रेरणा लिएर राजधानी छिरेका धामीको यहाँको सुरुवाती यात्रा जागिरबाट अगाडि बढ्यो । महाराजगञ्जमा दिदीको डेरामा बस्ने उनले आफूलाई सुहाउँदो जागिर खोज्दै थिए । काठमाडौं आएको केही समयमा नै उनी गोल्छा समूहमा आबद्ध भए । नेपालको प्रतिष्ठित घरानाबाट जागिरे जीवन सुरु गर्न पाउँदा उनी खुसी थिए ।

धामीले गोल्छा समूहमा ५ वर्ष ६ महिना काम गरे । उनले गोल्छा समूहमा मार्केटिङको काम गर्थे । पछिल्लो डेढ वर्ष उनले एरिया सेल्स म्यानेजरको जिम्मेवारी बहन गरे । गोल्छा समूहमा आबद्ध हुँदा नै उनले मार्केटिङमा आफूलाई स्थापित गराइसकेका थिए । मिठो बोली, प्रस्तुति शैली, इमान्दारिता, प्रष्ट वाक कला र मेहनतले उनलाई धेरैले मन पराउँथे ।

गोल्छा समूहको जागिर छोडेपछि उनको आबद्धता बोहरा ग्रुपमा भयो । उनले त्यहाँ ३ वर्ष ६ महिना सेल्स एण्ड मार्केटिङ म्यानेजर भएर काम गरे । देशभरको बजार हेर्ने गरी उनले त्यहाँ काम गरेका थिए । जहाँ उनले सफलता पनि अपेक्षा अनुसार नै पाइरहेका थिए । सँगसँगै काठमाडौंको मैतीदेवीमा उनको खाद्यान्न व्यवसाय पनि चलिरहेको थियो । जुन व्यवसाय धामी काठमाडौं आएको १ वर्ष पछि नै सुरु भएको थियो । पसलको नेतृत्व भाइ हेमन्तले गरेका थिए ।

२०६१ सालमा धामीले चाचन ग्रुपको सेल्स एण्ड मार्केटिङमा कन्ट्रि म्यानेजर भएर काम गर्ने अवसर पाए । चाचन ग्रुपमा उनी अहिले पनि सेल्स एण्ड मार्केटिङको उच्च तहमा रहेर काम गरिरहेका छन् ।

हरपल र धामी

उनले आफूलाई जागिरमा मात्रै कहिल्यै सीमित राखेनन् । जागिरसँगसँगै व्यवसायमा आबद्ध हुँदै अगाडि बढे । यसैको फलस्वरुप २०६२ मा हरपल चामलको लागि नेपालको आधिकारिक बिक्रेता बनेर काम गरे । हरपल नेपाली बजारमा लोकप्रिय बन्दै गयो । देशभरको बजारमा पुग्यो ।

हरपलको बिक्रेता हरपल फुड्स प्रा.लि.को उनी अध्यक्ष हुन् । हरपल फुड्स प्रा.लि.ले हरपल रिच राइस २० केजी र ५ केजी बजारमा उपलब्ध गराइरहेको छ । मधुमेहका बिरामीलाई लक्षित गरेर हरपल उसिना चामल २० केजी र ५ केजीको प्याकमा पनि उपलब्ध छ । ग्यालेक्सी जम्बो ११२१ बास्मती चामल १, ५ र २० केजीको प्याकमा उपलब्ध छ । ग्यालेक्सी प्रिमियम बास्मती २० केजीको प्याकमा उपलब्ध छ । अल्नाज बास्मती ५ केजी र १ केजीमा नेपाली बजारमा बिक्री भइरहेको छ । हरपल पसन्द चामल स्टिम र बोइल गरेर २० र ५ केजीमा उपलब्ध छ । दीपम सोनम जिरा मसिनो चामल २५ केजीमा उपलब्ध छ । प्रा.लि.ले यही वर्षबाट शुभमालिका ब्राण्डको चामल बिक्री वितरणको सुरुवात गरिसकेको छ । यो चामल २५ केजीको प्याकमा नेपाली बजारमा उपलब्ध छ । मधुमेहका बिरामीलाई लक्षित गरेर ग्यालेक्सी ब्राउन राइस १ केजीको प्याकमा नेपाली बजारमा उपलब्ध छ । स्पेसल बिर्यानीका लागि ग्यालेक्सी गोल्डेन सेला बास्मती पनि बजारमा उपलब्ध छ । खाद्यान्न व्यवसायमा ३ दशक लामो अनुभव संगालेका धामीलाई हरपल फुड्स प्रा.लि.ले थप स्थापित गरायो । ‘नेपालमा धेरै वर्गका उपभोक्ताहरु हुनुहुन्छ,’ धामी भन्छन्, ‘ती सबै बर्गका उपभोक्तालाई समेट्ने गरी हामीले यति धेरै रेन्जमा चामल बिक्री वितरण गरिरहेका छौं ।’

नेचर सुपर मार्केट प्रा.लि.

धामीको व्यावसायिक यात्रा हरपल फुड्समा मात्रै रोखिएन । उनको नेतृत्वमा नेचर सुपरमार्केट प्रा.लि. सुरु भइसकेको छ । उनी प्रा.लि.को अध्यक्ष हुन् । काठमाडौंको मैतीदेवी चोकमा गत कात्तिकबाट सुरु भएको सुपरमार्केटको पहिलो शाखा काठमाडौं नरेफाँटमा सञ्चालनमा आइसकेको छ ।

जनक धामी, अध्यक्ष, नेचर सुपर मार्केट प्रा.लि.

‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपरमार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु ग्राहकमाझ उपलब्ध गराउन सफल भएको धामी बताउँछन् । अबको एक वर्षभित्र प्रा.लि.ले काठमाडौंमा थप ५/६ वटा शाखा विस्तारको तयारी गरिसकेको छ । काठमाडौं उपत्यकाभर प्रा.लि.ले होमडेलिभरी सेवा उपलब्ध गराइरहेको छ । उपत्यकामा रहेका होटल, रेस्टुरेन्ट, होस्टेल, क्याटरिङ, क्यान्टिन, खुद्रा पसल लगायतका क्षेत्रहरुमा सुपथ मूल्यमा सामान उपलब्ध गराउन आफूहरु सफल रहेको धामी बताउँछन् ।

बजार व्यवस्थापन तथा गुणस्तरीय उत्पादन, बिक्री वितरणको लामो अनुभव र अभ्यासको परिणामस्वरुप सशक्त सुपर मार्केटको सुरुवात गर्ने क्रममा नेचर सुपरमार्केट प्रा.लि.को स्थापना भएको धामीले बताए । ‘प्रतिस्पर्धात्मक विश्व बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै नेचर सुपर मार्केटको स्थापना भएको हो,’ उनी भन्छन् ।

आफ्नै ब्राण्डमा सामान उत्पादनको लक्ष्य

jutta mela

धामीको योजना अबको केही वर्षमा नेचर सुपर मार्केटलाई थप स्थापित र विस्तार गर्ने हो । ‘सेल्स बढाउँदै नेचरलाई ब्राण्डिङ गर्दै हामी अगाडि बढ्छौं,’ उनले भने । नेचर सुपरमार्केटलाई देशभर चिनाउने र देशभर शाखा खोल्ने योजना उनले सुनाए । ‘केही वर्ष हामी काठमाडौंमै केन्द्रित हुन्छौं,’ उनले भने, ‘त्यसपछि देशभरका मुख्य बजारमा पुग्ने योजना छ ।’

नेचर सुपरमार्केटलाई ब्राण्ड रजिष्टर गरी साना–साना उद्योगमा जाने योजना रहेको धामीले बताए । ‘उत्पादनमुलक क्षेत्रमा हामीले लगानी बिस्तार गर्नेछौं,’ उनले भने । लोकल तथा अर्गानिक प्रडक्टलाई प्राथमिकतामा राखेर प्याकेजिङमा जाने योजना उनले सुनाए । अहिले धामीले नेतृत्व गरेको व्यवसायमा सय जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आगामी दिनमा लगानी बिस्तार गर्दै रोजगारीका अवसर पनि बढाउँदै जाने धामीको योजना छ । नेचर सुपर मार्केटलाई स्थापित गरिसकेपछि पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा लगानी बढाउने सोच रहेको धामीले बताए ।

सहकारीको सफल यात्रा

धामीको नेतृत्वमा १२ वर्ष अगाडि मालिका बचत तथा ऋण सहकारी संस्था स्थापना भयो । धामी अध्यक्ष रहेको यो सहकारीको प्रधान कार्यालय काठमाडौंको कुलेश्वरमा छ । सुन्धारा र मैतीदेवीमा सेवा केन्द्रहरु छन् । नेपालका उत्कृष्ट सहकारी मध्येमा मालिका पर्न सफल छ ।

व्यवसायसँगसँगै समाजसेवा

व्यवसायमा मात्रै धामी सीमित छैनन् । समाजसेवा पनि उनको रुचीको क्षेत्र हो । धेरैले उनलाई मनकारी व्यक्तित्व भनेर पनि चिन्छन् । उनले अरुको दुःख देख्न सक्दैनन् । संसारभर प्रभाव पारेको कोरोनाको प्रकोप नेपालमा पनि सुरु भयो । कोरोनाको त्राससँगै नेपालमा लकडाउन गरियो । लकडाउनले धेरैको रोजिरोटी गुम्यो । कोरोनाको डरले मानिसहरु घरभित्रै बसे । तर धामी घरमा बसेनन्, राजधानीमा रहेका विद्यार्थी तथा ज्याला मजदुरी गर्नेहरुको छाक टार्नका लागि राहत वितरणमा सक्रिय बने । लकडाउनको समयमा उनले करिब १ हजार २ परिवारलाई राहत वितरण गरे ।

आफ्नो पुख्र्यौली थलो अछामको बिनायक पञ्चदेवल नगरपालिकामा उनले स्वर्गीय बाबाको स्मृतिमा श्री कालासिल्ला मष्टा देवताको मन्दिर बनाएका छन् । बर्दिया र अछाममा उनले सामाजिक क्षेत्रमा थुप्रै योगदान पुर्याएका छन् । सहकारी र आफ्नो व्यावसायिक संस्थामार्फत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा धेरैलाई सहयोग गर्दै आइरहेका छन् ।

राजनीतिमा धामी

राजनीतिमा पनि धामीको रुची छ । उनी अहिले पनि नेपाली काँग्रेसको केन्द्रीय उद्योग तथा व्यापार विभागको केन्द्रीय सदस्य भएर काम गरिरहेका छन् । यस अगाडि पनि उनले विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । समयको माग अनुसार व्यवसायसँगसँगै राजनीतिमा सक्रिय हुँदै अगाडि बढ्ने योजना रहेको धामी बताउँछन् ।

धामीको बाल्यकाल

धामीको पुख्र्यौली थलो अछाम हो । अछामको पञ्चदेवल नगरपालिकास्थित माँडुमा उनको जन्म भएको हो । यद्यपि, उनको परिवारको बसाईं सराईं बर्दियामा भयो । उनको बाल्यकाल बर्दियामा नै बित्यो । प्रारम्भिक शिक्षा बर्दियाबाटै अगाडि बढाएका उनले एसएलसी अछामबाट सके । स्वर्गीय बुबा चक्रबहादुर धामीको उचित रेखदेख र असल अनुशासनमा हुर्केका धामीले उच्च शिक्षा अध्ययनका लागि राजधानी काठमाडौं प्रवेश गरेका हुन् । राजधानीमा उच्च शिक्षा अध्ययनसँगै काम र व्यवसायलाई सँगसँगै अगाडि बढाए । बर्दिया र काठमाडौं धामीको कर्मभूमि हो भने अछाम उनको जन्मभूमि । कर्मभूमिमा कर्म गरिरहँदा उनले आफ्नो जन्मभूमिप्रतिको दायित्व भने भुलेका छैनन् ।

बुबाको प्रेरणालाई आत्मसाथ

धामीले आजको दिनमा आइपुग्दा नेपालको स्थापित व्यवसायीको पहिचान बनाइसकेका छन् । अनुशासन, निरन्तरता, इमान्दारिता र मेहनतलाई उनले आफ्नो सफलताको शुत्र मान्छन् । ‘अनुशासन, इमान्दारिता र मेहनत गरेमा जीवनमा सफल हुन सकिन्छ भनेर मलाई बुबाले सिकाउनुभयो,’ धामी भन्छन्, ‘म अहिले त्यही शुत्रलाई आत्मसाथ गरि अगाडि बढिरहेको छु ।’ धामीलाई व्यवसायमा अगाडि बढ्न परिवारको पूर्ण साथ छ ।

 

You might also like

Comments are closed.