दुर्गा देवकोटा/टीकापुर । कैलालीको जानकी गाउँपालिकाका पशुपालक किसान व्यवसाय बढाउन अनुदान पाएपछि उत्साहित भएका छन् । पशुपालनलाई व्यवसायका रूपमा अघि बढाउन प्रयास गरिरहेका किसान अनुदान सहयोग पाएपछि थप उत्साहित भएका हुन् । किसानलाई व्यवसायमा आत्मनिर्भर बनाउन पालिकाले अनुदान सहयोग गरेको हो ।
गाउँपालिकाको पशुसेवा शाखाले आर्थिक वर्ष २०७७/२०७८ मा किसानलाई मासु र दूध तथा अण्डामा आत्मनिर्भर बनाउन अनुदानका कार्यक्रम ल्याएको थियो । यसका साथै पशुपालनतर्फ क्षमता विकासका कार्यक्रम, नश्लसुधार कार्यक्रम र वितरणका कार्यक्रमसमेत सञ्चालन गरेकाले किसानलाई व्यवसायमा सहयोग पुगेको छ ।
पशुपालक किसान गाउँपालिकाबाट पाएको अनुदानले आफ्नो व्यवसायमा सहयोग पुगेको बताउँछन् । जानकी–१ धर्मापुरका ओमप्रकाश चौधरीले दुई वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका छन् । व्यावसाययिक फार्म दर्ता गरी व्यवसाय शुरु गरेका चौधरीले बाख्रा र हाँस पालेका छन् । सात वटा बाख्राबाट व्यवसाय शुरु गर्नुभएका चौधरीसँग हाल २५ बाख्रा र २५ हाँस पुगेका छन् । उनले गाउँपालिकाको पशुसेवा शाखाबाट विभिन्न किसिमका अनुदान सहयोग पाएका छन् । “बाख्रालाई औषधोपचार, घाँसको बीउ, उन्नत जातको बोयर बोका, घाँस काट्ने मेसिन सहयोग पाएँ जसले मलाई निकै उत्साहित बनाएको छ”, ओमप्रकाशले भने, “व्यवसायमा सहयोग पुगेको छ । मजस्तो सानो व्यवसाय गर्ने मानिसको उन्नत जातको बोका किन्ने, घाँस काट्ने र दाना बनाउने मेसिन किन्ने क्षमता छैन । पालिकाले अनुदानमा दिएर व्यवसायमा निरन्तरता दिन हौसला मिलेको छ ।”
जानकी–९ मूर्तियाका प्रकाश विकले पनि तीन वर्षदेखि बाख्रापालन गरिरहेका छन् । तीन वर्षअघि पे्रम अमृता बाख्रापालन फार्म दर्ता गरी १७ वटा बाख्राबाट व्यवसाय शुरु गरेका विकसँग हाल ५६ बाख्रा छन् । तीमध्ये उनिसँग २८ वटा उन्नत जातका बाख्रा छन् भने ३२ वटा स्थानीय जातका बाख्रा छन् । व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका विकले पनि गाउँपालिकाबाट दाना बनाउने र घाँस काट्ने मेसिन, बाख्राको औषधि, घाँसको बीउ, पशु प्राविधिको निःशुल्क सहयोग पाइरहेका छन् ।
“गाउँपालिकाबाट जुन सहयोग र अनुदान पाएको छु यसले मलाई थप व्यवस्थापन गर्न सहयोग र हौसला मिलेको छ”, उनले भने, “अझै बाख्राका लागि दाना बनाउने र घाँस काट्ने मेसिन पनि पाएँ । अब व्यवस्थापनमा समेत सजिलो हुने भएको छ । व्यावसायिक पशुपालनमा लागेकालाई यसले ठूलो राहत हुन्छ । समय व्यवस्थापनमात्र होइन राम्रो उत्पादन लिन सकिने अपेक्षा गरेको छु ।”
विकले स्वदेशमै केही गर्न चाहने युवा, कृषि र पशुकर्ममा लागेकालाई स्थानीय सरकारको यस्तै सहयोग आवश्यक रहेको बताए । युवालाई स्वदेशमै रोजगारमूलक बनाउन कृषिकर्ममा लागेका युवालाई हौसला दिनका लागि स्थानीय सरकारले आगामी दिनमा अझ प्रभावकारीरुपमा अनुदानका कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।
तीन वर्षदेखि बाख्रापालन गरिरहनुभएका वडा नं ४ कञ्चनपुरका रेजिना कठरिया पालिकाको सहयोगपछि यो व्यवसाय विस्तार गर्ने योजनामा छन् । “पालिकाले कृषि तथा पशुपालनमा लागेकालाई राम्रो सहयोग गरेको छ”, कठरियाले भने, “यसले हामीलाई थप प्रोत्साहन मिलेको छ । मैले त पशुपालनलाई थप विस्तार गर्ने बारेमा घरमा सल्लाह गर्दैछु ।”
जानकी–८ का दानबहादुर विक पनि दुई वर्ष एकीकृत पशुपक्षी फार्म दर्ता गरी भैँसीपालन गरिरहेका छन् । एक भैँसीबाट शुरु भएको उनिसँग हाल छ भैँसी र चार बाख्रा छन् । विकले गाउँपालिकाबाट पशुलाई रोगविरुद्धको औषधि, मौसमअनुसारको घाँसको बीउ, दाना बनाउने र घाँस काट्ने मेसिन, सिँचाइका बोर्डिङलगायतका सहयोग पाएका छन् । उनि गाउँपालिकाबाट पाएको अनुदानबाट आफ्नो व्यवसायमा थप टेवा पुगेको बताउछन् । “यसलाई सदुपयोग गर्न सके अवश्य पनि व्यवसाय फस्टाउन मद्दत मिल्छ”, उनले भने ।
पालिकाले पशु व्यवसायमा किसानलाई प्रोत्साहन गर्ने, हौसला दिनेमात्र होइन किसानलाई पोषणको महत्वबारे समेत सिकाउने गरेको छ । घरमै उत्पादन भएका खानेकुरा दही, दूध, माछामासु, अण्डा खाएर पोषणमा सुधार ल्याउने प्रयाससमेत पालिकाले थालेको छ । पालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पशुपालन गर्ने किसानलाई व्यवसायमा आकर्षण बढाउनका लागि गाउँपालिकाबाट सहयोग गर्ने खालका कार्यक्रम सञ्चालन गरिरहेको बताउछन् । “हामी आगामी दिनमा पनि सहयोग गर्छौं, कृषि र पशुपालनमा लगानी बढाउने हाम्रो नीति पनि छ, कृषिमा लागेकाले सहयोग नपाउने कुरै हुँदैन, हामी कृषि र पशुपालन गर्ने किसानलाई यहीँ स्थापित गर्न चाहन्छौँ’’, उनले भने, “कृषक आत्मनिर्भर भए मात्र गाउँपालिकाको विकास हुने भएकाले हामीले कृषिलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रम ल्याएका छौँ ।”
गाउँपालिकाले कृषकलाई मासु र अण्डामा आत्मनिर्भर बनाउन २९९ बङ्गुुुरका पाठापाठी, एक लाख आठ हजार १८१ माछाका भ्रुण, पाँच वटा बोयरक्रस बोका, १२० बाख्रा, १६ वटा दाना बनाउने र घाँस काट्ने मेसिन, १४१ वटा कुखुरा वितरण गरेको पशुसेवा शाखा प्रमुख नरबहादुर कार्कीले बताए । उनले कृषकको लागत घटाई उत्पानमा वृद्धि गर्न कृत्रिम गर्भाधानका कार्यक्रम, कृषकको क्षमता विकासका तालीम सञ्चालन, सुनौलो हजार दिनका ४७ आमालाई कुखुरा वितरण, च्याप्कटर वितरणलगायतका कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिए । “हामीले पशुपालक कृषकको लागत घटाई उत्पादनमा वृद्धि गर्न अनुदान वितरणका कार्यक्रम गरेका हौँ”, उनले भने, “हामीले अनुदानमात्र होइन निःशुल्करुपमा कृषकलाई मौसमअनुसार घाँसको बीउ, प्राविधिक ज्ञान, औषधि वितरणजस्ता कार्यसमेत गरेका छौँ ।”
कार्की पालिकाले पशुतर्फ विभिन्न सहयोगका कार्यक्रम अघि सारेपछि पालिकामा पशुपालनमा लाग्ने किसानको सङ्ख्या बढ्दै गएको बताउछन् । “अहिले यो पेशालाई युवाले समेत रोज्न थालेका छन् । विदेश जानु तथा भारतमा कमाउन जानुभन्दा यहीँ घर परिवारसँगै बसेर काम गर्ने रोजाइ युवाले बनाउन थालेका छन्”, कार्कीले भने, “आफ्नै ठाउँमा काम गरे पो आर्थिक प्रगति हुन्छ । पशु व्यवसायबाट पनि आर्थिक क्रान्ति गर्न सकिन्छ भन्ने सन्देश दिन हामीले किसानलाई सघाउन थालेका हौँ ।”
Comments are closed.