२१औं संस्करणको लेखनाथ महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । महोत्सवको मूल संयोजक र लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षको नाताले महोत्सवलाई कसरी लिनुभएको छ ?
एकदमै खुसी र गौरवान्वित छु । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि मूल नारालाई २१औं संस्करणले पूर्ण रूपमा चरितार्थ गरेको छ । सबैभन्दा ठूलो कुरा, कुनै पनि बाधा-अवरोध (हडल्स) बिना यो महोत्सव सफलतापूर्वक सम्पन्न भयो । यसलाई हामीले ‘महोत्सवको पनि महोत्सव’को रूपमा स्थापित गर्न सफल भएका छौं ।
बिगतका वर्षहरू र यस पटकको अनुभवमा के भिन्नता पाउनुभयो ?
इतिहासलाई हेर्दा म आफैं विभिन्न पदमा रहेर काम गर्दा धेरै पटक अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरेको थियो । कहिले आर्थिक मन्दी त कहिले अन्य प्राविधिक समस्या हुन्थे । यस पटक पनि जेनजी आन्दोलन पछिको आर्थिक मन्दी तथा जटिल अवस्था थियो । यद्यपि, यसपटकको महोत्सव सोचे भन्दा भव्य बनेको छ । मौसमले पनि निकै साथ दियो र सबै लेखनाथबासीको अभूतपूर्व एकता देखियो । हाम्रो एकताकै कारण यो महोत्सवले नयाँ उचाइ छोएको हो ।
महोत्सवको आर्थिक पक्ष र दर्शकको सहभागिता कस्तो रह्यो ? के लक्ष्य पूरा भयो त ?
हामीले करिब ९ करोडको कारोबार र २ लाख ५० हजार दर्शकको लक्ष्य राखेका थियौं । तर नतिजा हाम्रो सोचभन्दा निकै राम्रो आयो । महोत्सवमा करिब ११ करोड २० लाखको कारोबार भयो । ३ लाख ३५ हजार दर्शकले अवलोकन गर्नुभयो । विशेषगरी अन्तिम दिन उपभोक्ताहरूले सस्तोमा सामान किनमेल गर्ने मौका पाउनुभयो, जसले गर्दा कारोबारमा उल्लेख्य वृद्धि भयो । यो हाम्रा लागि ठूलो उपलब्धि हो ।
यो सफलताको श्रेय कसलाई दिनुहुन्छ ?
यो सफलता एकल प्रयासबाट सम्भव थिएन । म सम्पूर्ण लेखनाथबासी, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न क्लबहरू, आमा समूहहरू र स्थानीय जातजातिहरूप्रति आभारी छु । त्यस्तै, प्रदेशका उच्च पदस्थ अधिकारीहरूको प्रतिनिधित्वले हाम्रो महोत्सवको गरिमा बढायो । यसले समग्र लेखनाथकै गौरव बढाएको छ ।
महोत्सवबाट भएको बचतलाई कुन क्षेत्रमा उपयोग गर्ने योजना छ ?
हामीले महोत्सवबाट हुने बचतलाई सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गर्नेछौं । मुख्य रूपमा, प्रस्तावित औद्योगिक क्षेत्र निर्माणका लागि पहल र सहयोग गर्ने हाम्रो प्राथमिकता रहनेछ । उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याएर व्यापार र पर्यटनको विकास गर्ने हाम्रो अभियान जारी रहनेछ ।

महोत्सवको सफलतापछि लेखनाथबासी र व्यवसायीहरूलाई के भन्न चाहनुहुन्छ ?
जेन्जी आन्दोलन र आर्थिक सुस्तताका कारण व्यवसायीहरूको मनोबल केही गिरेको अवस्था थियो, तर यो महोत्सवले नयाँ ऊर्जा थपेको छ । अब हामीले प्राकृतिक सम्पदाको संरक्षण गर्दै लेखनाथको एकीकृत विकासमा लाग्नुपर्छ । सबैको साथ र सहयोग भएमा लेखनाथलाई आर्थिक समृद्धिको केन्द्र बनाउन सकिन्छ भन्ने विश्वास यस महोत्सवले दिलाएको छ ।




Comments are closed.