नेपालमा लगानी बढाउन र युवालाई उद्यममा आकर्षण गर्न ‘जेसिआई बिजनेस मिट’

  • नेपालमा लगानी बढाउन र उद्यममा आकर्षण गर्न ‘बिजनेस मिट’ हुँदै ।
  • नेपालका युवाहरु जसलाई लगानी आवश्यक छ उनीहरु कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

काठमाडौं । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरु आबद्ध संस्था नेपाल जेसिजले व्यक्तित्व तथा नेतृत्व विकासमा सक्रियताका साथ काम गर्दै आइरहेको छ । नेपाल जेसिसको हालको अध्यक्ष रजनी थापा छन् । उनको नेतृत्वमा नेपाल जेसिजले नेतृत्व तथा व्यक्तित्व विकास लगायतका क्षेत्रमा विविध कार्यक्रम गर्दै आइरहेको छ भने देशभरका क्लबहरुले पनि आआफ्नो क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

यसैक्रममा नेपाल जेसिजले अन्तर्राष्ट्रियस्तरको बृहत कार्यक्रमको आयोजना गर्न लागेको छ । दक्षिण एसियाली युवा नेताहरूको काठमाडौंमा जमघट गराउने लक्ष्यसहित नेपाल जेसिजले ‘साउथ–एसियन एकेडेमी फर इन्टरनेशनल लिडरसिप’ कार्यक्रम आयोजना गरेको छ । जुलाई ३१ देखि अगस्ट ३, २०२५ (साउन १५ देखि १८) सम्म काठमाडौंको ठमेलस्थित अलोफ्ट होटलमा कार्यक्रम हुने अध्यक्ष थापाले जानकारी दिइन् ।

‘दक्षिण एसियाली देशहरु नेपाल, भारत, बंगलादेश र श्रीलंकाका युवा नेताहरुबीच नेतृत्व क्षमता अभिवृद्धि, क्षेत्रीय सहकार्य र अन्तरसंस्कृतिक समझदारीलाई बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,’ अध्यक्ष थापाले भनिन्, ‘नेपालका लागि यो कार्यक्रम ऐतिहासिक हुनेछ ।’

पूर्व राष्ट्रिय अध्यक्ष २००१ तथा जेसिआई सिनेटर प्रज्ञा राज राजभण्डारीको नेतृत्वमा कार्यक्रम आयोजना गरिएको हो । वर्तमान राष्ट्रिय अध्यक्ष रजनी थापाको अध्यक्षतामा कार्यक्रम हुनेछ । ‘यो कार्यक्रम नेपाली युवा नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने दुर्लभ अवसर हो । यसले नेपाललाई अन्तर्राष्ट्रिय युवा नेतृत्वको केन्द्रका रूपमा चिनाउनेछ,’ अध्यक्ष थापाले भनाइ छ ।

कार्यक्रममा नेतृत्व विकास सत्रहरू, उद्यमशीलता र परियोजना व्यवस्थापन सम्बन्धी कार्यशालाहरू, अन्तरसंस्कृतिक आदानप्रदान, संस्कृति र पहिचानको सम्मान, विश्व सम्पदास्थलहरूको भ्रमण तथा पर्यटन प्रवर्द्धन, व्यापारमा जेसिज लगायतका विशेष सत्रहरु हुनेछन् । यी सबै कार्यक्रमहरु निकै उपयोगी प्रभावकारी हुने जेसिज नेपालले विश्वास लिएको छ ।

दक्षिण एसियाली युवाहरुबीच दीर्घकालीन नेटवर्किङ र साझेदारीको मार्ग खोल्नका लागि कार्यक्रम फलदायी हुने विश्वास गरिएको छ । कार्यक्रममा चार देशका १२० भन्दा बढी युवाहरु सहभागी हुनेछन् ।

नेपालमा लगानी बढाउने लक्ष्यसहित बिजनेस मिट हुने

सोही कार्यक्रमको अवसरमा नेपालमा ‘जेसिआई एसिया बिजनेस एण्ड इन्भेष्टमेन्ट मिट’ पनि हुने भएको छ । साउन १८ (अगस्ट ३) मा अलोफ्ट होटलमै कार्यक्रम हुनेछ । दक्षिण एशियाका उद्यमीहरू, लगानीकर्ता, व्यावसायिक नेताहरू तथा नेपालका स्टार्टअपहरूबीच नेटवर्किङ, लगानीका अवसरहरूको पहिचान र साझा सहकार्यको माध्यमबाट दीगो आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले बिजनेस मिट गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख आकर्षणहरुमा दक्षिण एशियाली व्यावसायिक नेताहरूको नेटवर्किङ सेसन, लगानीकर्तासँग प्रत्यक्ष सम्पर्क तथा पिचिङ सेसन, क्षेत्रीय विषयमा आधारित विशेष संवाद र छलफल कार्यक्रमहरू रहनेछन् । नेपाली तथा दक्षिण एशियाली स्टार्टअप तथा इनोभेटिभ आइडियाको प्रदर्शनी पनि गरिनेछ । ‘जेसिआई इन बिजनेस’ शीर्षकमा आयोजित उक्त कार्यक्रममार्फत जेसिआईको ‘सकारात्मक परिवर्तनका लागि युवालाई सशक्त बनाउने’ उद्देश्यलाई अझ सशक्त बनाउने लक्ष्य लिइएको छ ।

नेपालमा लगानी गर्न चाहन्छन् विदेशी युवा

बिजनेस मिटमा सहभागी हुने विदेशी युवाहरु नेपालमा लगानीको अवसरको खोजीमा रहेको नेपाल जेसिजका अध्यक्ष थापा बताउँछन् । ‘नेपालमा लगानी बढाउन र नेपालका युवाहरुलाई उद्यममा आकर्षण बढाउन कार्यक्रमले योगदान गर्नेछ,’ उनले भनिन् ।

नेपालका युवाहरु जसलाई लगानी आवश्यक छ उनीहरु कार्यक्रममा सहभागी हुन सक्ने अध्यक्ष थापाले जानकारी दिइन् । ‘कार्यक्रममा सहभागी विदेशी युवाहरुले नेपालमा ५ करोड भन्दा बढी लगानी गर्नका लागि तयार छन्, यहाँ लगानीका लागि राम्रो प्रोजेक्ट र सम्भावनाहरु देखिन आवश्यक छ ।’

You might also like

Comments are closed.