जेसीआई नेपालको आयोजनामा साउथ एशिया एकेडेमी फर इन्टरनेशनल लिडरशिप सम्पन्न

काठमाडौं । जेसीआई नेपालको आयोजनामा पहिलो पटक नेपालमा साउथ एशिया एकेडेमी फर इन्टरनेशनल लिडरशिप कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम आज काठमाडौंको ठमेलस्थित होटल अलोफ्टमा आयोजना गरिएको हो ।

कार्यक्रमको प्रमुख उद्देश्य दक्षिण एसियाका उद्यमीहरू, लगानीकर्ता, व्यवसायिक नेताहरू र नेपालका स्टार्टअपहरूबीच नेटवर्किङ, लगानीको सम्भावना पहिचान, तथा साझा सहकार्यलाई प्रवर्द्धन गर्दै दीगो आर्थिक विकासमा योगदान पुर्‍याउनु रहेको आयोजकले जानकारी दिएको छ ।

नेतृत्व विकास, क्षेत्रीय सहकार्य र अन्तरसंस्कृतिक समझदारीलाई सुदृढ बनाउन आयोजित यस कार्यक्रममा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका युवा नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम पूर्व राष्ट्रिय अध्यक्ष (२००१) तथा जेसीआई सिनेटर प्रज्ञा राज राजभण्डारीको नेतृत्वमा आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता जेसिसको हालको अध्यक्ष रजनी थापाले गरेकी थिइन् ।

अध्यक्ष थापाले भनिन्, “नेपालका लागि यो कार्यक्रम ऐतिहासिक हुनेछ । यो कार्यक्रम नेपाली युवा नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने दुर्लभ अवसर हो । यसले नेपाललाई अन्तर्राष्ट्रिय युवा नेतृत्वको केन्द्रका रूपमा चिनाउनेछ ।”

कार्यक्रमका मुख्य आकर्षणहरूमा दक्षिण एशियाली व्यावसायिक नेतासँग नेटवर्किङ सेसन, लगानीकर्तासँग प्रत्यक्ष सम्पर्क तथा पिचिङ सेसन, क्षेत्रीय समसामयिक विषयमा संवाद र छलफल, साथै स्टार्टअप तथा इनोभेटिभ आइडियाको प्रदर्शनी रहेका थिए । ‘JCI in Business’ शीर्षकमा आयोजना गरिएको यो कार्यक्रममार्फत जेसीआईको मूल ध्येय “सकारात्मक परिवर्तनका लागि युवालाई सशक्त बनाउने” अभियानलाई थप बलियो बनाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.