सेनाको रिपोर्टअनुसार जेनजी आन्दोलनमा २२ प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु

काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गते देशभर भएको जेनजी विद्रोहका क्रममा २२ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरेको छ ।  सेनाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जारी गरेको प्रतिवेदनमा कुल ७६ जनाको ज्यान गएको विवरण सार्वजनिक गरेको हो ।

सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाका अनुसार मृतकमध्ये ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेका छन् । रिपोर्टअनुसार देशभर ४८४ स्थानमा प्रदर्शन र झडप भएका थिए ।

विद्रोहका क्रममा ६८८ वटा सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यावसायिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय र ३०७ प्रहरी इकाइमा तोडफोड तथा आगजनी भएको सेनाले जनाएको छ । त्यस्तै, १५ हजार ५८८ जना कैदीबन्दी भागेका मध्ये हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको छ ।

सेनाका अनुसार आन्दोलनका बेला हराएका ९७८ थान हतियारमध्ये ५८६ वटा फिर्ता भइसकेका छन् । सेनाले आगामी दिनमा बाँकी कैदी र हराएका हतियार खोजी तीव्र बनाइने बताएको छ ।

You might also like

Comments are closed.