युवा उद्यमी अशोक खड्का पिउरो ड्रिङकिङ वाटरका संस्थापक तथा प्रवन्ध निर्देशक हुन् । पोखराबाट प्लस टुसम्मको अध्ययन सकेपछि उनी ब्याचलर अध्ययनका लागि सन् २०१३ मा काठमाडौं पुगे । काठमाडौं जानु अगाडि उनी प्राय फुटवल खेल्थे । लोकल टुर्नामेन्टमा उनको व्यस्तता हुन्थ्यो । जब ब्याचलर अध्ययन गर्न उनी काठमाडौं पुगे त्यसपछि उनलाई अन्य गतिविधिमा पनि चासो बढ्न थाल्यो ।
काठमाडौंमा ‘लास्ट थस्डे’ नामक इभेन्ट हुन्थ्यो । जहाँ उद्यमीहरुको सेसन चल्थ्यो । त्यहाँ आउने उद्यमीहरुको प्रेरणादायी कुरा सुनेपछि उनलाई पनि उद्यमी बन्ने हुटहुटी पलायो । आफूभित्र उद्यमको प्यासन छ भन्ने त्यहीँबाट थाहा पाए । र, ‘स्टार्टअप’मा चासो बढाउन थाले । उद्यम गर्नका लागि रिसर्चलाई अगाडि बढाए । काठमाडौंमा पाँच वटा स्टार्टअप बिजनेसमा हात हाले । तर, कुनै पनि व्यवसायमा सफलता मिलेन । अन्तत उनी सन् २०१७ मा आफ्नै शहर पोखरामा फर्किए ।
उनी पोखरा फर्किएपछि जन्मियो ‘पिउरो’ । पिउरो सुरु गर्नु अगाडि उनले पाँच वटा स्टार्टअपमा आफू कसरी फेलियर भएँ भनेर समिक्षा गरे । ती सबै कमजोरीलाई पिउरोमा छिर्न दिएनन् । र उनी अन्तत सफल युवा उद्यमी बनेर उदाए । आज पोखराको सर्वाधिक चर्चित ब्राण्ड बन्न सफल भएको छ पिउरो ।
पिउरो बजारमा ल्याउने बेलामा उनलाई लाग्यो पानी त पानी नै हो । यो व्यवसायमा केही नयाँ पन दिनैपर्छ भन्ने सोच उनमा आयो । पोखरेलीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने र उत्पादनमा नयाँ पन दिने सोचलाई कार्यान्वयन गर्न सफल भए । सुरुवातमै उनले प्याकेजिङमा नयाँ पन दिए । प्राय पानीका बोत्तलहरु गोलो आकारमा हुन्थे । उनले सुरुवाती दिनदेखि नै स्वायर सेपमा पानीको बोत्तल तयार गरे । बजारमा सबै बोत्तल निलो कलरका थिए । उनले कलरमा पनि फरक पन दिन लेबल र क्यापको कलर ग्रिन बनाए । नाम पनि युनिक राखे । ‘पियोर’लाई टुइस्ट गरेर ‘पिउरो’ बनाए । सुरुवाती समयमै पोखरामा यो ब्राण्ड दोस्रो ब्राण्डमा स्थापित भयो । अहिले पनि कहिले पहिलो त कहिले दोस्रो ब्रान्ड बन्दै बजार लिड गरिरहेको छ । नविनतम सोचकै कारण उनले पिउरोबाट व्यावसायिक सफलता पनि पाएका छन् ।
जनकपुर साहित्य महोत्सवमा उद्यमका कुरा
छोटो सयममा पिउरोलाई ब्राण्ड बनाउन सफल युवा उद्यमी खड्का शुक्रबार जनकपुरमा सुनिए । जनकपुर साहित्य महोत्सवको पाँचौं संस्करण अन्तर्गत ‘नव उद्यमी आ उद्यमशीलता’ सेसनमा बोल्दै खड्काले उद्यमी बन्नका लागि नयाँ सोचका साथ काम गर्नुपर्ने धारणा राखे ।
‘उद्यमशीलता भनेको मेरो लागि इन्नोभेटिभ एप्रोज नै हो । एउटा सटरमा स्टिम मःम बेचिराखेको छ । अर्को सटरमा पनि स्टिम मःम नै बेचिन्छ भने त्यो कपी क्याट मोडल भयो,’ उनी भन्छन्, ‘एउटाले स्टिम मःम बेचिराखेको छ र अर्को व्यवसायीले ग्राहकलाई नयाँ स्वाद दिने गरी चाट मःम बेच्छ भने त्यो इन्नोभेटिभ एप्रोच हो ।’
मानिसलाई आज व्यवसाय दर्ता गरिसकेपछि भोलिबाट उद्यमी हो भन्ने लागिरहेको बताउँदै उनले व्यवसाय दर्ता गर्दैमा उद्यमी बन्न नसकिने तर्क राख्छन् । ‘व्यवसाय दर्ता गर्नुमात्रै उद्यमशीलता होइन,’ खड्का भन्छन्, ‘कुनै पनि इन्नोभेटिभ एप्रोच प्रयोग गरेर व्यवसाय गरिरेहेको छ र त्यसले समाजमा भइरहेको समस्यालाई नयाँ तरिकाले समाधान गर्दै व्यावसायिक काम गरिरहेको छ भने त्यो मेरो लागि उद्यमशीलता हो ।’ केही नयाँ चिज, नयाँ तरिकाले गर्ने र समाजमा सकारात्मक प्रभाव पार्न सक्नु नै उद्यम भएको खड्का बताउँछन् ।
कुन कामबाट आफू र देशले लाभ लिन सक्छ त्यो क्षेत्रमा लाग्न पनि उनले सुझाव दिए । ‘नेपालबाट आइटीबाट हामीले ६५ अर्बको कारोबार गरेका रहेछौं । तर राज्यले यो कामलाई प्राथमिकता दिन्न,’ उनले भने, ‘इन्नोभेसन जहिले पनि सुरुवातमा आउँछ । त्यसपछि राज्यले नियमन गर्न सक्छ । पोलिसी पछि आउँछ ।’
उनी भन्छन्, ‘गाडी गुड्न थालेपछि सवारी ऐन आयो । राइड सेयरिङ आएपछि राइड सेयरिङ पोलिसी बनाउने हो । इन्नोभेसन गर्न चाहनेहरुलाई सरकारले साथ दिनुपर्छ । पोलिसी बनाएर सहयोग गर्नुपर्छ ।’ पोलिसीलाई देखाएर उद्यमीहरुलाई निरुत्साहित गर्न नहुने उनको तर्र्क छ ।
उत्पादनमा जोड दिएर छिमेकी दुई देशसँग नेपालले प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै खड्काले भन्छन् ‘हामीले जुन काममा राम्रो गर्न सक्छौं त्यही कामलाई प्राथमिकता दिनुपर्छ ।’ आइटी र पर्यटनमा नेपालको सम्भावना राम्रो रहेको उनको तर्क छ ।
उक्त सेसनमा खड्कासँगै युवा उद्यमीहरु डा. शोनु शाह, दीपीका उपाध्याय र जितेन्द्र महासेठले आआफ्नो विचार राखेका थिए । कार्यक्रमको सहजीकरण आशिस ठाकुरले गरेका थिए ।
Comments are closed.