पोखरा । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखराको प्रसिद्ध तालबाराही मन्दिरदेखि माथिल्लो मुस्ताङमा अवस्थित पवित्र दामोदर कुण्डसम्मको भ्रमण कार्यक्रम आयोजना हुने भएको छ । पोखरा महानगरपालिकाको ‘पोखरा भ्रमण वर्ष’ र नेपाल पर्यटक यातायात व्यवसायी संघको संयुक्त आयोजनामा धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत यो यात्रा हुन लागेको हो ।
असार २ गते मंगलबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडस्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिर परिसरबाट यात्रा सुरु हुने नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष रविप्रसाद आचार्यले जानकारी दिए ।
६ दिने धार्मिक तथा पर्यटकीय भ्रमणका क्रममा सहभागीहरूले मुक्तिनाथ मन्दिरका साथै दामोदर कुण्डको दर्शन गर्ने कार्यक्रम तय गरिएको छ । यात्राको रुटमा पर्ने अन्य विभिन्न मठमन्दिरहरूको समेत भ्रमण गरिने जनाइएकाे छ ।

पोखरा भ्रमण वर्षको सन्दर्भमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटनलाई थप गतिशील बनाउन र देशका प्रमुख धार्मिक गन्तव्यहरूलाई आपसमा जोड्नका लागि यो कार्यक्रम निकै उपयोगी हुने विश्वास लिइएको पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारी बताउँछन् ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशले बिगतका वर्षहरुमा पनि यस्ता प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आइरहेको र यस वर्ष पनि निरन्तरता दिएको पूर्व अध्यक्ष बाबुराम पाण्डेले बताए । उक्त भ्रमण टोलीमा करिब ३५ जनाको सहभागिता रहने कार्यक्रम संयोजक विकास कँडेलले जानकारी दिए ।







Comments are closed.