ककनी: राजधानी नजिकको प्राकृतिक स्वर्ग

श्याम कुमार घिमिरे

नेपालको राजधानी काठमाडौंबाट करिब ३० किलोमिटरको दूरीमा पर्ने ककनी आफैँमा सुन्दर स्थान हो । वरिपरिका वनजङ्गल र खोलानालाको मिश्रणले यस स्थानलाई अझ रमणीय बनाएको छ । यहाँको माथिल्लो लेकाली क्षेत्रमा उर्बर जमिनको लगभग ८० प्रतिशत सिंचित गर्न सकिन्छ र नगदेवाली, स्ट्रोबेरी, किवी, ट्राउट माछा, मकै, धान, तोरी र विभिन्न तरकारीहरू लटरम्म फल्ने गर्दछन् । जङ्गली जनावरको खतरा न्यून भएकाले यो स्थान प्राकृतिक रूपले स्वर्गभन्दा कम छैन ।

तर केवल प्राकृतिक स्रोतले जीवनलाई सहज र समृद्ध बनाउन सक्दैन; आवश्यक सेवा र सुविधाको अभावमा ककनी आज रितिदो अवस्थामा पुगेको छ । युवा जमात गाउँमा कम देखिन्छन् र धेरैले २५–३० किलोमिटर टाढाको शहरमा आफ्नो परिवार सारिसकेका छन् । +2 पछि भविष्यका उत्कृष्ट जनशक्ति समेत देश र विदेशतर्फ जान चाहन्छन्, जसका कारण गाउँहरू सुनसान बन्दै छन् ।

यदि यस्तै अवस्था रहिरह्यो भने, राजधानी वरिपरिको गाउँहरूको सुनसान हुने खतरा बढ्दै जानेछ । यस समस्याको मूल कारणको बारेमा सोच्दा देखिन्छ कि विश्वका विकसित मुलुकहरू जस्तै अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा र अन्य एसियाली मुलुकमा नजिकैको शहरमा दैनिक कामका लागि जाने–आउनेहरूको संख्या उल्लेखनीय छ भने ककनीमा भौगोलिक र प्रशासनिक चुनौतीले विकासलाई अवरुद्ध बनाएको छ ।

२०६२ सालमा उपत्यकाको फोहोर विसर्जनको नाममा नुवाकोट विकासको नारा दिए पनि ककनीको सुन्दर भूगोल अझै पर्याप्त सुविधासहित प्रयोग हुन सकेको छैन । कालोपत्रे सडक भए पनि वर्षभर चल्ने सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन । कृषकहरूलाई मल, बिउ र विषादीको दिगो व्यवस्था, उत्पादनको भरपर्दो बजार र स्वास्थ्य सेवा पर्याप्त छैन । यसले देखाउँछ कि राज्यका महत्त्वपूर्ण निकायहरूमा स्थानीय नेताहरूको उपस्थितिमा पनि ठोस उपलब्धि हुन सकेको छैन ।

राजतन्त्रकालीन केन्द्रीकृत विकास र हालको विकेन्द्रीकृत तर अव्यवस्थित विकासले ककनीको पूर्ण सम्भावना उपयोग गर्न सकेको छैन । आउँदो निर्वाचनमा नुवाकोटबासीले आफ्नो वृहत्तर हित र समृद्धिमा काम गर्न सक्ने नेतृत्व छान्नुपर्ने आवश्यकता अत्यन्तै महत्वपूर्ण छ ।

You might also like

Comments are closed.