काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअनुसार लघुवित्तले उल्लेख्य वित्तीय प्रगति गरेको छ ।
गत वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा ३६.४२ प्रतिशतले वृद्धि भई १० करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफा वृद्धिमा मुख्य योगदान खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धिले दिएको हो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५०.२९ प्रतिशतले र अन्य सञ्चालन आम्दानी ८३.८८ प्रतिशतले बढेको छ ।
त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ५४.९८ प्रतिशतले र सञ्चालन मुनाफा ९५.८९ प्रतिशतले बढेको देखिएको छ । असार मसान्तसम्ममा संस्थाको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख रुपैयाँ रहेको छ ।
नाफाको साथसाथै कालिका लघुवित्तको प्रतिशेयर आम्दानी (EPS) पनि वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा ५ रुपैयाँ २३ पैसाले बढेर यस वर्षको अन्त्यसम्ममा EPS २६ रुपैयाँ ५१ पैसा पुगेको छ ।
त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात (P/E Ratio) ३९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा पुगेको छ ।
४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड २४ लाख रुपैयाँ सञ्चित छ । यसले १ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
कालिका लघुवित्तको वित्तीय प्रगति र स्थायित्व सूचकाङ्कहरू हेर्दा, निकट भविष्यमा पनि यसको वित्तीय प्रदर्शन सकारात्मक रहने विश्लेषकहरूको अनुमान छ ।
Comments are closed.