काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको बाँडफाँड सफलतापूर्वक सम्पन्न भएको छ । बाँडफाँड प्रक्रिया आज २०८२ माघ २१ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा सम्पन्न गरिएको हो ।
रु. ३५ करोड बराबरको उक्त अग्राधिकार सेयरमा उत्साहजनक सहभागिता देखिएको छ । निष्काशनका लागि १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको बैंकले जनाएको छ । यसले नेपाली पूँजी बजारप्रति लगानीकर्ताको उच्च विश्वास र आकर्षण झल्काएको छ ।
परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरू (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोष बाहेक) का लागि मिति २०८२ माघ १२ गतेदेखि १५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो। सो अवधिमा विभिन्न संघ–संस्थामार्फत उल्लेखनीय आवेदन प्राप्त भएको बताइएको छ ।
अविमोच्य अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर (असञ्चिति) रहेको यो अग्राधिकार सेयर विकास बैंक क्षेत्रमा पहिलो पटक जारी गरिएको हो, जसले वित्तीय बजारमा नयाँ अभ्यासको सुरुवात गरेको बैंकको भनाइ छ।
यस अग्राधिकार सेयर निष्काशन प्रक्रिया सफल बनाउन सहयोग पुर्याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेडलगायत सम्पूर्ण नियामक निकायहरू, आवेदनकर्ता, सञ्चारमाध्यम, पत्रकार, निष्काशन बैंकहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै सरोकारवालाप्रति कामना सेवा विकास बैंक लिमिटेड परिवार र निष्काशन तथा बिक्री प्रवन्धकले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।




Comments are closed.