काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा यही असोज २४ गते गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार १९५.४० रुपैयाँको कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। जसअन्तर्गत १० प्रतिशत बोनस शेयर (३५ करोड १० लाख ८४ हजार ६१९.५४ रुपैयाँ) र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित २० करोड ३२ लाख ६० हजार ४४०.४८ रुपैयाँ) रहनेछन् ।
बोनस शेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि गर्न बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव सभामा पेश गरिनेछ । साथै नियामक निकायको निर्देशनअनुसार प्रबन्धपत्र वा नियमावलीमा थपघट गर्न सक्ने अधिकार सञ्चालक समितिलाई दिने अर्को विशेष प्रस्ताव पनि पारित गरिनेछ ।
सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिनेछ ।
यसका लागि बैंकले असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असोज ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्ने र साधारणसभामा भाग लिन सक्नेछन् ।
Comments are closed.